रौतहट जिल्लाको ईशनाथ नगरपालिका–८ मन्सरी टोलमा करेन्ट लागेर पुनः एकजनाको मृत्यु भएको छ। आफ्नै खेतमा मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेका ५५ वर्षीय शेख जाफिरको उपचारका क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आइतवार राति साढे ९ बजे खेतमा सिँचाइका लागि मोटर सञ्चालन गर्दा करेन्ट प्रवाह भइरहेको तारको सम्पर्कमा आउँदा उनी गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै गौरस्थित प्रादेशिक अस्पताल लगिएको थियो, जहाँ राति पौने ११ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनाको खबर पाएलगत्तै रामपुरखाप प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली घटनास्थलमा खटिएको थियो। घटनास्थल चौकीबाट करिब २ किलोमिटर दक्षिणमा पर्ने बताइएको छ।
मृतकको शव पोष्टमार्टमका लागि गौर अस्पतालमै राखिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका तथ्यांक अनुसार, गत आर्थिक वर्षमा करेन्ट लागेर २३ जनाको मृत्यु भएको थियो भने हालसम्म यो सङ्ख्या बढेर २८ पुगेको छ। बारम्बार विद्युतजन्य दुर्घटना हुँदै आइरहेकाले सावधानी अपनाउन प्रहरीद्वारा सर्वसाधारणलाई अनुरोध गरिएको छ।




