रौतहट ।
जिल्लाको धरोहरको रुपमा चिनिने सदरमुकाम गौरमा नवनिर्मित घण्टाघरको विधिवत् उद्घाटन गरिएको छ। ऐतिहासिक एवं पर्यटकीय महत्त्व बोकेको यो संरचनाको निर्माण कार्य सम्पन्न भएसँगै नगरको सौन्दर्यीकरणमा महत्त्वपूर्ण फड्को लागेको हो ।
गौर नगरपालिकाले नगरको गौरव र पहिचानका रूपमा निर्माण गरेको यस घण्टाघरको उद्घाटन नगर प्रमुख शम्भु साहले आइतबार एक विशेष समारोहका बीच गरेका हुन्। गौर नगरपालिका वडा नम्बर ५ स्थित विपि चोकमा निर्मित यो संरचनाले अब उप्रान्त गौर बजारको प्रमुख केन्द्रको रूपमा आफ्नो स्थान कायम गर्नेछ।
नगरको गौरव र विकासको प्रतीक
घण्टाघरको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख साहले यो संरचना नगरपालिकाको विकासप्रतिको प्रतिबद्धताको स्पष्ट उदाहरण भएको बताए। उनले भने, घण्टाघर केवल समय हेर्ने माध्यम मात्र नभई गौर नगरको गौरव र पहिचानको प्रतीक बनेको हो । यसको निर्माणले नगरको आकर्षण बढाएको छ, जसले आन्तरिक तथा बाह्य पर्यटकलाई गौरमा भित्र्याउन थप मद्दत पुग्नेछ।
नगर प्रमुख साहका अनुसार नगरपालिकाले भौतिक पूर्वाधारको विकासलाई प्राथमिकतामा राख्दै नगरभित्र सडक, नाला, पार्क र ऐतिहासिक संरचनाहरूको संरक्षण तथा निर्माणलाई तीव्रता दिएको हो । विपि चोकमा बनेको यो घण्टाघरलाई भविष्यमा स्मृति टावरको रूपमा विकसित गर्ने र यसका चारैतिर देशका लागि योगदान पुर्याएका वीर शहीद तथा राष्ट्रिय विभूतिहरूको प्रतिमा राख्ने दीर्घकालीन योजना रहेको पनि उनले जानकारी दिए। यसले नयाँ पुस्तालाई इतिहास र राष्ट्रियतासँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको हो ।
स्थानीयहरूको उत्साह र सहभागिता
उद्घाटन समारोहमा वडाध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, नागरिक समाजका अगुवा, सञ्चारकर्मी तथा स्थानीय बासिन्दाहरूको बाक्लो उपस्थिति रहेको थियो। घण्टाघरको निर्माणले गर्दा बजार क्षेत्रको स्वरूप नै फेरिएको भन्दै स्थानीयहरूले नगरपालिकाको यस कदमको प्रशंसा गरेका छन्।
एक स्थानीय अगुवाका अनुसार वर्षौंदेखि गौरको मुख्य चोकले एउटा पहिचानको संरचना खोजिरहेको थियो। घण्टाघरको निर्माणले त्यो आवश्यकता पूरा गरेको हो । अब हामी गर्वका साथ आफ्नो नगरको केन्द्र देखाउन सक्छौँ।
पर्यटन विकासमा टेवा
गौर नगरपालिकाले यो घण्टाघरको निर्माणलाई पर्यटन विकासको रणनीतिक योजनाअन्तर्गत राखेको छ। नगरपालिका भित्र पर्ने बरहवा ताल, सोवर्नामाइको मन्दिर, बालेश्वरनाथको मन्दिर, पुरेनवा दरबार लगायतका धार्मिक र पर्यटकीय स्थलहरूको भ्रमणमा आउने पर्यटकहरूलाई घण्टाघरले थप आकर्षित गर्ने नगरपालिकाको विश्वास रहेको छ।
प्राप्त जानकारी अनुसार, घण्टाघर निर्माणमा नगरपालिकाको करोडौं रुपैयाँको लगानी रहेको छ र यसको निर्माण कार्य तोकिएको समयभित्रै सम्पन्न गरिएको हो। आधुनिक शैली र बलियो संरचनामा निर्मित यो टावरले गौरको मध्यभागलाई एक आकर्षक गन्तव्यका रूपमा स्थापित गरेको हो ।
नगरपालिकाले अब यो संरचनाको संरक्षण, मर्मतसम्भार र सौन्दर्यीकरणमा थप ध्यान दिने प्रतिबद्धता व्यक्त गरेको छ। यसैगरी गौरको सौन्दर्यलाई अझै बढाउन शहीद पार्क लगायत अन्य सार्वजनिक स्थलहरूको निर्माण कार्यलाई पनि तीव्रता दिइने नगर प्रमुख साहले बताए।
गौरको मुटुमा ठडिएको यो घण्टाघरले अब उप्रान्त यस क्षेत्रको समय र विकासको गतिलाई प्रतिनिधित्व गर्ने विश्वास गरिएको हो । यो संरचनाले नगरलाई कति लामो समयसम्म आफ्नो गौरव र पहिचान प्रदान गरिरहनेछ त्यो भने आगामी दिनमा यसको व्यवस्थापन र संरक्षणमा निर्भर हुनेछ।




