उपराष्ट्रपति यादवद्वारा अपाङ्गता दिवसको शुभकामना

मंसिर १८ काठमाण्डौं ___ उपराष्ट्रपति रामसहायप्रसाद यादवले अपाङ्गता भएका व्यक्तिको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने हक सुनिश्चितताका लागि सरोकार भएका सबैलाई आह्वान गर्नुभएको छ । अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिँदै उपराष्ट्रपति यादवले स्वदेश तथा विदेशमा बसोबास गर्नुभएका फरक क्षमता भएका सबैलाई शुभकामना व्यक्त गर्दै संविधानप्रदत हकअधिकारको कार्यान्वयनमा जोड दिनुभयो ।

उहाँले शुभकामना सन्देशमार्फत नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको स्मरण गराउँदै यसको पूर्ण कार्यान्वयनका लागि आह्वान गर्नुभएको छ । “हामी एकजुट भएर अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार्न, उहाँहरूको अधिकारको संरक्षण गर्न र हरेक क्षेत्रमा समावेशिताका लागि प्रतिबद्ध भई अघि बढ्न सक्नु पर्दछ”, उपराष्ट्रपति यादवले भन्नुभएको छ, “सबै मिलेर न्यायपूर्ण र समावेशी समाज र देशको निर्माण गर्दै सबैको सम्मान, योगदान र हकअधिकारलाई मान्यता दिन सक्नुपर्दछ ।”

सन् १९९२ देखि हरेक वर्षको डिसेम्बर ३ तारिखमा विश्वभर अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, समानता, समावेशिता र सम्मानलाई सुनिश्चित गर्न यो दिवस मनाउने गरिन्छ ।उपराष्ट्रपति यादवले समान सहभागिता, अवसर र सहानुभूतिलाई प्रवर्द्धन गर्न सबैको प्रयास आवश्यक भएकाले यो दिवसले त्यसमा ऊर्जा थप्नसक्ने विश्वास व्यक्त गर्नुभएको छ ।

Comments (0)
Add Comment