बारा,
देवताल गाउँपालिका वडा नं. २ गम्हरियामा समाचार संकलन गर्न गएका पत्रकार चन्देश्वर प्रसाद चौरसिया (राजु) माथि केही स्थानीय व्यक्तिहरूले दुव्र्यवहार तथा हातपात गरेका छन्।
सार्वजनिक जग्गामा रहेको रुख काटिएको विषयमा विवाद भएको जानकारी पाएपछि समाचार संकलनका लागि पुगेका पत्रकार चौरसियामाथि स्थानीय व्यक्तिहरूको समूहले अचानक दुर्व्यवहार गर्दै हातपात गरेको पीडितले बताएका छन्। सो क्रममा उनीसँग रहेको मोबाइल फोन र ब्याग समेत जबर्जस्ती नियन्त्रणमा लिइएको थियो।
करिब एक घन्टापछि स्थानीय प्रहरी चौकीको पहलमा मोबाइल र ब्याग फिर्ता गरिए पनि ब्यागभित्र रहेको क्यामरा फेला नपरेको पत्रकार चौरसियाले जानकारी दिएका छन्।
घटनाप्रति प्रेस जनमत संघ बारा शाखाले गम्भीर ध्यानाकर्षण जनाउँदै प्रेस विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा पत्रकारमाथि गरिएको दुव्र्यवहार र हातपातप्रति घोर आपत्ति जनाउँदै घटनामा संलग्न दोषीमाथि कडा कानुनी कारबाहीको माग गरिएको छ।
पत्रकार चौरसियाले समाचार संकलन गर्ने क्रममा भएको उक्त घटनाले प्रेस स्वतन्त्रतामाथि आक्रमण भएको भन्दै दोषीमाथि कडा भन्दा कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।