Online New Portal

फोरजी नेटवर्क सुधार गर्न एनसेलका २५० वटा नयाँ टावर विस्तार

8

एनसेलले आफ्नो फोरजी नेटवर्कको पहुँच विस्तार र गुणस्तर सुधार गर्न सन् २०२५ मा देशभर दुई सय ५० वटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको छ । कम्पनीका अनुसार २२ सय टावरमा क्षमता अभिवृद्धि गरिएको छ । जसका कारण ग्राहकले अझ स्पष्ट सुनिने भ्वाइस सेवा र उच्च गतिको डेटा सेवाको फाइदा लिन सक्नेछन् ।

विश्वसनीय कनेक्टिभिटीसहित आफ्ना सबैसँग सधैँ सम्पर्कमा रहन फोरजी नेटवर्क सुदृढीकरण र सेवा विस्तार गरिएको बताइएको छ । सातै प्रदेशका विभिन्न स्थानीय तहमा नयाँ टावर स्थापना गरी सञ्चालनमा ल्याइएका छन् भने विषेश गरी मधेश, लुम्बिनी, कोशी र बागमती प्रदेशमा केन्द्रित हुँदै यो पहल अघि बढाइएको कम्पनीले जनाएको छ । कम्पनीले मधेश प्रदेशमा एक सयभन्दा बढी नयाँ टावर स्थापना गरेको छ । त्यसपछि लुम्बिनीमा ४० भन्दा बढी र कोशी प्रदेशमा ३५ भन्दा बढी टावर स्थापना भएका छन् । यसैगरी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि थप टावर स्थापना गरिएका छन् ।

दुई सय ५० वटा टावरमध्ये एक सय ९७ वटा टावर पछिल्लो साढे दुई महिनामा स्थापना गरिएका हुन् भने स्टकमा रहेका तथा स्पेयर उपकरणको अधिकतम उपयोगमार्फत ५३ वटा नयाँ टावर सञ्चालनमा ल्याइएको कम्पनीले जानकारी दिएको छ । लामो समयसम्म रोकिएको सहजीकरण नेपाल दूरसञ्चार प्राधिकरणले सहज बनाएसँगै कम्पनीले नयाँ टावर स्थापनाको कामलाई तीव्र रूपमा अगाडि बढाएको थियो ।

‘देशभर थपिएका हाम्रा यी नयाँ टावर र क्षमता अभिवृद्धि गरिएका साइटले सम्बन्धित प्रदेशका स्थानीय तह र ठाउँमा ग्राहकलाई मोबाइल ब्रोडब्यान्ड र गुणस्तरीय भ्वाइस सेवाको पहुँच अझ व्यापक बनाएको छ । यसले फोरजी कनेक्टिभिटीको महत्वलाई अझ बढाएको छ,’ एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपंग दत्तले भने ।

Leave A Reply

Your email address will not be published.