Online New Portal

दिगो कृषि अभ्यासले नाइट्रोजन दुरुपयोग घटाउँदै जलवायु जोखिम न्यून गर्ने सन्जय कुश्वाहाको भनाइ

21

कलैया, बारा : रासायनिक नाइट्रोजन मलको अत्यधिक प्रयोगले माटोको स्वास्थ्य बिग्रँदै गएको र जलवायु परिवर्तनको जोखिम बढ्दै गएको अवस्थामा दिगो कृषि अभ्यासले समाधानको स्पष्ट बाटो देखाएको फेटा गाउँपालिकाको कृषि प्राविधिक सन्जय कुश्वाहाले बताएका छन्।
कुश्वाहा अनुसार असन्तुलित रूपमा प्रयोग गरिने नाइट्रोजन मलले माटोको उर्वराशक्ति घटाउनुका साथै नाइट्रस अक्साइड (N₂O) जस्तो शक्तिशाली हरितगृह ग्यासको उत्सर्जन बढाइरहेको छ। विश्वव्यापी तापक्रम वृद्धिमा ठूलो भूमिका खेल्ने यो ग्यासको नियन्त्रण नगरे कृषि क्षेत्र स्वयं जलवायु परिवर्तनको प्रत्यक्ष पीडित बन्ने खतरा बढ्दै गएको कुश्वाहाले चेतावनी दिए।
फेटा गाउँपालिकाका कृषि प्राविधिक सन्जय कुश्वाहाका अनुसार माटो परीक्षणका आधारमा मल प्रयोग, जैविक मलको उपयोग, दालहन बाली समावेश गरिएको बालि चक्र, हरियो मल तथा सूक्ष्म सिँचाइ र मल्चिग खेती जस्ता अभ्यासले नाइट्रोजनको उपयोग दक्षता उल्लेखनीय रूपमा बढाउँछ। यसले बालीलाई आवश्यक मात्रामा पोषक तत्त्व उपलब्ध गराउने र अतिरिक्त नाइट्रोजन वातावरणमा फैलिन नदिने बताइएको छ।
यस्ता दिगो अभ्यास अपनाउँदा उत्पादन लागत घट्ने, माटोको स्वास्थ्य सुधार हुने र बाली उत्पादनमा स्थायित्व आउने अपेक्षा गरिएको छ। साथै, किसानको आम्दानी वृद्धि हुनुका साथै खडेरी, अत्यधिक वर्षा र तापक्रमको अनियमितताजस्ता जलवायु परिवर्तनका प्रभावसँग जुध्न कृषि प्रणाली सक्षम बन्ने कुश्वाहाको भनाइ छ।
सरकार, स्थानीय तह र किसानबीच सहकार्य गर्दै दिगो कृषि प्रविधि र अभ्यासलाई गाउँस्तरसम्म विस्तार गर्न सके कृषि क्षेत्रबाट हुने हरितगृह ग्यास उत्सर्जन घट्नुका साथै दीर्घकालीन खाद्य सुरक्षा सुनिश्चित गर्न सकिने सन्जय कुश्वाहाले बताए।

Leave A Reply

Your email address will not be published.