कलैया, बारा :बालीमा देखिने पातका विभिन्न लक्षणहरूबाट पोषक तत्वको कमी छिटो र प्रभावकारी रूपमा पहिचान गर्न सकिने भन्दै फेटा गाउँपालिकाको कृषि प्राबिधिक सन्जय कुश्वाहाले कृषकहरुलाई सतर्क रहन आग्रह गरेका छन्। कृषि प्राबिधिक कुश्वाहाका अनुसार पातमा देखिने परिवर्तनहरू बालीको स्वास्थ्य अवस्थाबारे सबैभन्दा भरपर्दो संकेत मानिन्छन्।
कृषि प्राबिधिक कुश्वाहाका अनुसार पात पहेंलो हुनु, बैजनी वा रातो रङ देखिनु, नसाबीच पहेंलो देखिनु (इन्टरभेनल क्लोरोसिस), पातको किनार जल्नु, पात बाङ्गिनु तथा बोटको वृद्धि रोकिनुजस्ता लक्षणहरू बालीमा पोषक तत्वको कमीका प्रमुख संकेत हुन्।
विशेषज्ञहरूका अनुसार चलायमान पोषक तत्व जस्तै नाइट्रोजन, फस्फोरस र पोटासियमको कमी प्रायः पुराना पातहरूमा देखिन्छ भने अचल पोषक तत्व जस्तै आइरन, जिंक र क्याल्सियमको कमी नयाँ पातहरूमा देखिने गर्दछ। यस आधारमा लक्षण पहिचान गरी समयमै सन्तुलित मल व्यवस्थापन गर्न सकिएमा बालीमा हुने क्षति न्यून गर्न सकिने कृषि प्राविधिक कुश्वाहाको भनाइ छ।
नाइट्रोजनको कमी हुँदा पुराना तल्ला पातहरू पहेंलो (v)अकारको हुँदै जान्छन् र बोटको वृद्धि सुस्त हुन्छ। फस्फोरसको कमीमा पात गाढा हरियो वा बैजनी रग वा प्याजी रगको देखिनुका साथै बोट होचो हुने समस्या देखिन्छ। त्यसैगरी पोटासियमको कमी हुँदा पातको किनारबाट पहेंलो हुँदै खैरो उल्टो (v)अकारकाे पहेंलो हुदै जान्छ। वा कालो जल्ने लक्षण देखिन्छ।
कृषि प्राविधिकहरूका अनुसार आइरन (फलाम) को कमी हुँदा नयाँ पातमा नसाबीच पहेंलो देखिन्छ तर नसा हरियो नै रहन्छ। म्याग्नेसियमको कमी प्रायः पुराना पातमा नसाबीच दाग–दाग पहेंलो देखिने रूपमा प्रकट हुन्छ। क्याल्सियमको कमीले नयाँ पात बाङ्गिनुका साथै टुसा र जराको वृद्धि प्रभावित पार्छ भने जिंकको कमीमा पात सानो, साँघुरो र विकृत हुने समस्या देखिन्छ।
कृषि प्राबिधिक कुश्वाहाले बालीमा देखिने यस्ता लक्षणलाई सामान्य रोग ठानेर बेवास्ता नगर्न आग्रह गर्दै समयमै माटो परीक्षण, सन्तुलित मल प्रयोग तथा आवश्यक सूक्ष्म पोषक तत्वको आपूर्ति गर्न सुझाव दिएका छन्। प्राबिधिक कुश्वाहाका अनुसार सही समयमा गरिएको पोषक तत्व व्यवस्थापनले उत्पादन वृद्धि मात्र होइन, बालीको गुणस्तर र माटोको दीर्घकालीन स्वास्थ्य समेत सुधार गर्न सहयोग पुर्याउँछ।