काठमाडौं : राजधानीको खुल्लामञ्चमा २८औँ भूकम्प सुरक्षा दिवसको मूल समारोह भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा भूकम्पीय जोखिम न्यूनीकरण, तयारी र सुरक्षाका विषयमा सरोकारवालाले जोड दिएका छन्।
समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय सुरक्षाका लागि संघ, प्रदेश र स्थानीय तहका सबै सरकार तथा सम्पूर्ण नागरिकको तयारी अत्यन्तै महत्वपूर्ण हुने बताउनुभयो। उहाँले भूकम्पलगायतका जोखिम हस्तान्तरणका उपायहरू पहिचान गरी कार्यान्वयनतर्फ अघि बढाउनुपर्नेमा जोड दिँदै बीमा जस्ता उपकरणतर्फ अभिमुख हुनुपर्ने समय आएको उल्लेख गर्नुभयो।

शहरी विकास मन्त्री प्रा. डा. कुमार इङ्नामले घर तथा अन्य भौतिक संरचना निर्माण गर्दा अनिवार्य रूपमा भवन संहिता पालना गर्नुपर्ने बताउनुभयो। उहाँले सुरक्षित संरचना नै विपद् न्यूनीकरणको पहिलो आधार भएको स्पष्ट पार्नुभयो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश प्रसाद भट्टले काठमाडौंलगायतका शहरी क्षेत्रमा खुल्ला क्षेत्रहरू क्रमशः खुम्चिँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले विपद्का बेला ती खुल्ला स्थान अत्यन्तै आवश्यक हुने भएकाले तिनको संरक्षणलाई स्थानीय तहले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।
समारोहको अध्यक्षता गर्नुभएकी काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भवन निर्माण संहितामा विशेष ध्यान दिन सके भूकम्पलगायतका विपद्बाट ठूलो क्षति हुनबाट बच्न सकिने बताउनुभयो। उहाँले भवन संहिता कार्यान्वयन गर्ने जिम्मेवारी सरकारको मात्र नभई हरेक नागरिकको पनि भएको उल्लेख गर्नुभयो।
भूकम्प सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा सुरक्षित निर्माण, जोखिम न्यूनीकरण र सचेतना अभिवृद्धिको सन्देश प्रवाह गरिएको थियो।
