वीरगञ्ज, १३ भदौ
अनुमति विना संचालनमा रहेको ‘वीरगञ्ज स्कुल अफ ल’ मा सिलबन्दी गरिएको छ । अनुमति नै नलिई संचालन गरेको फेला परेपछि वीरगञ्ज महानगरपालिकाले बुधबार सिलबन्दी गरेको हो । नियमन समितिका संयोजक ईश्वरचन्द्र यादब नेतृत्वको टोलीले आज अनुमति नलिई संचालनमा रहेका विद्यालयलाई कारबाही गर्न महानगर प्रमुख राजेशमान सिंहले दिनुभएको निर्देशन बमोजिम नियमन समितिले सिलबन्दी गरेको हो । यस्तै वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ स्थित इम्पेरियल कलेजमा पनि वीरगञ्ज महानगरपालिकाले सिलबन्दी गरेको छ ।
महानगरबाट अनुगमन गर्न पुगेको टोलीले कलेज सञ्चालनका लागि आवश्यक अनुमति लिएको नपाएपछि सिलबन्दी गरेको हो । वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ स्थित बिजी बिज किड्स प्रि स्कुलमा पनि वीरगञ्ज महानगरपालिकाले सिलबन्दी गरेको छ । महानगरबाट अनुगमन गर्न पुगेको टोलीले स्कुल सञ्चालनका लागि आवश्यक अनुमति लिएको नपाए पछि प्रि स्कुलमा सिलबन्दी गरेको हो । सिलबन्दी गर्न महानगरपालिकाका प्रशासन महाशाखा प्रमुख राजकृष्ण ताम्राकार, वडा नं. ५ का वडा अध्यक्ष प्रदिप चौरसिया, १३ का हिरा गिरी, शैक्षिक प्रशासन महाशाखा अधिकृत आनन्द लामिछाने, नारायण चापागाईँ, , महानगर प्रमुखका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल एवं संचारकर्मीको सहभागितामा सिलबन्दी गरिएको हो ।