Online New Portal

बारामा निर्वाचन प्रहरी आवेदन उच्च, बेरोजगारी चुनौती कायम

8
कलैया , ०१ माघ
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै बारामा निर्वाचन प्रहरीमा आवेदन दिनेहरूको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ। आवेदन खुला भएको अन्तिम दिनसम्म जम्मा आठ हजार चार सय ३७ (८,४३७) जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आवेदन प्रक्रिया पौष २५ गतेदेखि सुरु भएको हो। पहिलो दिन ६९ पुरुष र ६२ महिला गरी १३१ जनाले आवेदन भरेका थिए। दोस्रो दिन (पौष २६) नेपाल प्रहरीतर्फ ९०७ पुरुष र ११२ महिला तथा सशस्त्र प्रहरीतर्फ १६० पुरुष र ४७ महिला गरी १,२ सय २६ जनाले आवेदन दिएका थिए।
तेस्रो दिन (पौष २७) नेपाल प्रहरीतर्फ ३८५ पुरुष र २१५ महिला तथा सशस्त्र प्रहरीतर्फ ३९५ पुरुष र ५ महिला गरी १ हजार जनाले आवेदन दिएका थिए। चौथो दिन (पौष २८) ९३९ पुरुष र १९४ महिला नेपाल प्रहरीतर्फ तथा सशस्त्र प्रहरीतर्फ ३१३ पुरुष र ४४ महिला गरी १,४९० जनाले आवेदन दिएका थिए। पाँचौं दिन (पौष २९) नेपाल प्रहरीतर्फ ९७० पुरुष र ३३१ महिला तथा सशस्त्र प्रहरीतर्फ २६४ पुरुष र ५६ महिला गरी १,६२१ जनाले आवेदन दिएका थिए।
पौष ३० गते नेपाल प्रहरीतर्फ १,०३८ पुरुष र ८२ महिला तथा सशस्त्र प्रहरीतर्फ २५१ पुरुष र ३४ महिला गरी १,४०५ जनाले आवेदन गरेका थिए। अन्तिम दिन नेपाल प्रहरीतर्फ १,४६९ पुरुष र ११६ महिला तथा सशस्त्र प्रहरीतर्फ ८८ पुरुष र ७ महिला गरी जम्मा ८,४३७ जनाले आवेदन दर्ता गरेका छन्।
जिल्ला प्रशासन कार्यालय बाराले प्रतिनिधिसभा निर्वाचनका लागि ४,०३४ निर्वाचन प्रहरीको आवश्यकता रहेको जनाएको छ। आवेदन दिने अन्तिम म्याद माघ १ गतेसम्म तोकिएको छ।
तर, जिल्लामा युवाहरूको रोजगारीको अवस्था भने चुनौतीपूर्ण रहेको छ। उच्च शिक्षित युवाहरू समेत बेरोजगार छन् र उद्योग तथा व्यवसायिक अवसरको कमीले युवा वर्गमा असन्तोष बढाएको छ। रोजगार नपाउँदा धेरै युवा भारत वा अन्य प्रदेशतर्फ रोजगारीको खोजीमा जान बाध्य भएका छन्।
स्थानीय समाजसेवी र रोजगार विज्ञहरूले बेरोजगारी दीर्घकालीन समस्या भएको उल्लेख गर्दै, “तालिम र शिक्षा मात्र पर्याप्त हुँदैन, स्थानीय उद्योग र स्वरोजगारमा लगानी आवश्यक छ,” भनेका छन्। १८–३५ वर्ष उमेर समूहका करिब ३० प्रतिशत युवा बेरोजगार रहेको अनुमान छ।
जिल्ला प्रशासन र प्रहरी कार्यालयले बेरोजगारी तथा सुरक्षा चुनौती दुवैलाई मध्यनजर गर्दै योजना र कार्यक्रम तयार पार्नुपर्ने देखिएको छ। यसैबीच, निर्वाचन प्रहरीमा उच्च आवेदनको चापले तयारीलाई थप चुनौतीपूर्ण बनाएको छ।
Leave A Reply

Your email address will not be published.