Online New Portal

उखु किसान मारमा, उद्योगको लापरबाहीले संकट गहिरिँदै फोहर पानीले नदी र बस्ती प्रदूषित, स्थानीय आक्रोशित

13
बारा,  ०१ माघ
बारा जिल्लामा सञ्चालित रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिजको लापरबाहीका कारण स्थानीय उखु किसान गम्भीर संकटमा परेका छन्। समयमै चलान नपाउँदा किसानले उत्पादन गरेको उखु खेतमै सुक्ने अवस्थामा पुगेको छ।
कलैया उपमहानगरपालिका–२४, श्रीपुरमा रहेको उक्त चिनी उद्योगले बारा जिल्लाका किसानलाई बेवास्ता गर्दै पर्सा र रौतहटका किसानलाई प्राथमिकता दिँदै आएको किसानहरूको आरोप छ। जिल्लामै उद्योग सञ्चालनमा रहे पनि स्थानीय किसानलाई उखु बिक्रीका लागि आवश्यक चलान उपलब्ध नगराइनु अन्यायपूर्ण भएको उनीहरूको भनाइ छ।
किसानहरूका अनुसार लामो समयको मेहनतपछि तयार भएको उखु समयमा मिलमा नबिके ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था आएको छ। उखु बिक्री नभएपछि बैंकको ऋण, खेतीमा लागेको लागत र घरखर्च चलाउन समस्या परेको उनीहरू बताउँछन्।
“उखु रोप्न मिलकै प्रतिनिधि आएर आग्रह गर्छन्, तर काट्ने बेला हामीलाई बेवास्ता गरिन्छ,” एक किसानले गुनासो व्यक्त गरे। मिलले रोपाइँको समयमा आश्वासन दिने तर उत्पादन उठाउने बेलामा पन्छिने प्रवृत्ति दोहोरिँदै आएको उनीहरूको आरोप छ।
किसानहरूले उखु खेतमै नष्ट भए यसको जिम्मेवारी कसले लिने ? भन्ने प्रश्न उठाएका छन्। समस्या समाधान नभए चरणबद्ध आन्दोलनमा जाने चेतावनी समेत उनीहरूले दिएका छन्।
उता, चिनी मिलबाट निस्किने फोहर तथा प्रदूषित पानीले आसपासका बस्ती र नदी प्रणालीमा गम्भीर असर परेको भन्दै स्थानीयवासी आन्दोलित बनेका छन्। ब्राह्मपुरी, बन्जरिया, बेलहिया, गोइँठही, भलुही, मंगढवा हुँदै बंगरी नदीमार्फत दुधौरा नदीमा मिसिने फोहर पानीले वातावरण दुर्गन्धित बनेको स्थानीयको गुनासो छ।
प्रदूषणका कारण मानव स्वास्थ्य र वातावरणमा दीर्घकालीन जोखिम बढ्दै गए पनि उद्योग सञ्चालक र सरोकारवाला निकाय मौन रहेको स्थानीयहरूको आरोप छ। तत्काल फोहर पानी व्यवस्थापन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ।
यस विषयमा जिल्ला प्रशासन कार्यालय बारा, वातावरणसम्बन्धी निकाय तथा सम्बन्धित सरोकारवालाले तुरुन्त हस्तक्षेप गर्नुपर्ने माग किसान र स्थानीयवासीले गरेका छन्।
Leave A Reply

Your email address will not be published.