Online New Portal

निर्वाचन प्रहरी भर्नामा युवाको आकर्षण, मागभन्दा दोब्बर आवेदन दर्ता

6

रौतहट , ०२ माघ

आगामी फागुन २१ गते देशभर एकैसाथ हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी भर्ना खुला गरिएको निर्वाचन प्रहरी (म्यादी प्रहरी) मा रौतहट जिल्लाका युवाहरूको उत्साहजनक सहभागिता देखिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार तोकिएको कोटा भन्दा करिब दोब्बर संख्यामा आवेदन दर्ता भएका छन्।
जिल्लाभरका विभिन्न चारवटा संकलन केन्द्रहरूबाट प्राप्त तथ्याङ्क अनुसार कुल ६ हजार २ सय ८४ जना युवायुवतीले निर्वाचन प्रहरीका लागि दरखास्त दिएका हुन्। सरकारले यसपटक म्यादी प्रहरीको नाम परिवर्तन गरी निर्वाचन प्रहरी राखेको छ र उनीहरूलाई प्रहरी जवान सरहको सेवा सुविधा उपलब्ध गराउने व्यवस्था गरेको हो। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार आवेदन दिनेहरूमा पुरुषको संख्या ५ हजार ३ सय ४८ रहेको छ भने महिलाहरूको संख्या पनि निकै उत्साहजनक छ। कुल आवेदनमध्ये ९ सय ३६ जना महिलाहरूले निर्वाचन सुरक्षामा खटिन इच्छा देखाउँदै दरखास्त दिएका छन्।
जिल्लामा बेरोजगारीको समस्या र निर्वाचन सुरक्षामा योगदान पुर्‍याउने इच्छाका कारण युवाहरूको आकर्षण बढेको देखिन्छ, डिएसपी बस्यालले भन्ने विशेष गरी महिला आवेदकहरूको संख्याले सामाजिक चेतना र सुरक्षा निकायप्रतिको रुचि बढेको प्रष्ट पार्छ।
म्याद थप भएन, छनोट प्रक्रिया सुरु हुँदै
पहाडी तथा केही हिमाली जिल्लाहरूमा तोकिएको कोटा अनुसार आवेदन नपरेपछि गृह मन्त्रालयको निर्देशनमा सात दिनको म्याद थप गरिए पनि रौतहटमा भने निर्धारित समयमै पर्याप्त आवेदन परेका छन्। रौतहटमा कुल ३ हजार ४ सय ६६ दरबन्दी रहेकोमा त्यसको करिब दोब्बर आवेदन परेकाले यहाँ म्याद थप गर्नुपर्ने आवश्यकता नदेखिएको प्रहरीले जनाए।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार अब छिट्टै निर्धारित मापदण्ड शारीरिक तन्दुरुस्ती, स्वास्थ्य परीक्षण र अन्तर्वार्ता बमोजिम छनोट प्रक्रिया अगाडि बढाइनेछ। छनोटमा सफल हुने उम्मेदवारहरूलाई १० दिनको संक्षिप्त तर प्रभावकारी तालिम प्रदान गरी निर्वाचन सुरक्षाका लागि मतदान केन्द्रहरूमा परिचालन गरिनेछ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि रौतहटमा सुरक्षा व्यवस्था कडा पारिएको हो । जिल्लाका २ सय ७७ मतदानस्थल र ५ सय ४१ मतदान केन्द्रहरूको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै निर्वाचन प्रहरीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको समन्वयमा खटाइने योजना रहेको हो ।
यसरी भर्ना हुने निर्वाचन प्रहरीले ४० दिनको कार्यअवधि पाउनेछन् र उनीहरूले रासन, पोशाक र पारिश्रमिक बापत तोकिएको सेवा सुविधा प्राप्त गर्नेछन्।
Leave A Reply

Your email address will not be published.