कलैया स्थित दास गेस्ट हाउसको सभाहलमा सुरक्षित बैदेशिक रोजगारी सम्बन्धि संचारकर्मी संग अन्तरकृया कार्यक्रम सम्पन्न
श्यामल कुमार गिरी
१७ जेष्ठ बारा । बारा जिल्लाको कलैया स्थित दास गेस्ट हाउसको सभाहलमा सुरक्षित बैदेशिक रोजगारी सम्बन्धि संचारकर्मी संग अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रम दलित जनजाति उत्थान केन्द्र बाराका अध्यक्ष हरिशन्कर रामको अध्यक्षतामा सम्पन्न भएको हो ।
कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका सचिव अनिल कुमार गौरव, बरिष्ठ पत्रकार जितलाल श्रेष्ठ, पन्नालाल दास, प्रभु यादव, शिवशंकर मिश्रा, सिकेन्द्र पासवान लगायतका पत्रकारहरुको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा बैदेशिक रोजगारीमा जानेहरुलाई सुचना तथा चेतनाको अभाव भएकाले स्वदेशमा नै रोजगारी गरौं , बैदेशिक रोजगारीमा जाने नै भए सहि सुचना लिएर र सिप सिकेर मात्रै जाऔं भन्ने उदेश्यका साथ संचार क्षेत्रमा आबद्ध भएकाहरुलाई सहभागी गराईएको सुरक्षित आप्रवासन (सामी) परियोजना बाराका संयोजक सरोज कुमार सिंहले स्वागत मन्तव्यको क्रममा बताउनु भयो । बारा जिल्लाको कलैया उपमहानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, सिम्रौनगढ नगरपालिका र बारागढी गाउँपालिकालाई लक्षित गरी आयोजना गरिएको जानकारी दिनु भयो । देश भरीका ३९ वटा जिल्लालाई बिशेष ध्यानमा राखि म्यानपावर कम्पनीहरुले नेपाल सरकारले तोकेको शुल्क भन्दा बढी रकम लिई रकेकोले जनसमुदायलाई सचेत गराउनका लागि कार्यक्रम गरिरहेको पनि बताउनु भयो ।
बैदेशिक रोजगारमा जाने ब्याक्तिलाई सुचनामा पहुँच बृद्धि गर्ने, न्यायमा पहुँच बढाउने, बित्तिय कक्षा संचालन गर्ने, मनोसमाजिक परामर्श सेवा प्रदान गर्ने र सिपयुक्त जनशक्तिको बिकास गर्ने सामी परियोजनाको मुख्य कार्य रहेको छ । बाहिरी देशमा राजगारका लागि जाँदा स्थानिय स्तरको बैदेशिक रोजगार सम्बन्धितको समग्र तथ्यांकहरु उपलब्ध नहुनु, सुरक्षित बैदेशिक रोजगारका बारेमा सचेतनाको कमि हुनु, गन्तव्य मुलुकमा गर्नु पर्ने कामको बारेमा उचित सिप नहुनु, ठगी तथा अलपत्र पर्नु सधै कानुनी सहायताको लागि आवश्यक प्रमाण नहुनु, रेमिट्यान्सलाई आयमुलक क्षेत्रमा परिचालन गर्न नसक्नु, नेपालको एयरपार्टमा दैनिक ३ देखि ५ वटा कामदारको शव भित्रिने गरेको, गन्तव्य मुलुकमा सम्झौता अनुसारको तलब,काम र सुबिधाहरु नपाउनु लगायतका समस्या देखिएको छ ।
सो समस्या समाधानका लागि बाराका जिल्ला तथा ईलाका प्रशासन कार्यालय मातहतमा अप्रवासी स्रोत केन्द्र र उपकेन्द्रको स्थापना गरिएको छ । बिभिन्न एफएम रेडियो मार्फत सुचना, संदेश प्रवाह, पर्चा पम्पलेट वितरण, स्थानिय तहका वडा कार्यालयमा घुम्ती अप्रवासी स्रोत केन्द्र मार्फत सुचना प्रवाह, बिभिन्न किसिमका अभिमुखीकरण कार्यक्रम गरिरहेको छ । जिल्ला भरीका १०४ वटा मुद्दा मध्य ३७ वटाको समस्या समाधान भैसकेको छ । जसमा खोज तलास तथा उद्धार २९ वटा, शव झिकाउन ८ वटा, सम्झौता गरे अनुसारको काम तलब र बोनस फरक भएको ८ वटा, जेल परेका ५ वटा, ठगी गरेका ५० वटा, स्वास्थ्य समस्या परेका १ वटा र क्षतीपुर्ती तथा आर्थिक सहायता गरी १०४ वटा मुद्दा मध्य ३७ वटा समाधान भई सकेको सो अन्तकृया कार्यक्रम मार्फत जानकारी भएको छ ।