पश्चिम सेती तथा सेती नदी–६ जलविद्युत् परियोजना विकासका लागि भारतीय कम्पनी एनएसपीसी लिमिटेडसँग लगानी बोर्डले प्रारम्भिक सम्झौता गर्ने
पश्चिम सेती तथा सेती नदी–६ जलविद्युत् परियोजना विकासका लागि भारतीय कम्पनी एनएसपीसी लिमिटेडसँग लगानी बोर्डले प्रारम्भिक सम्झौता गर्ने भएको छ ।
सिंहदरबारमा बसेको बोर्ड बैठकले पश्चिम सेती तथा सेती नदी– ६ जलविद्युत् परियोजना विकासका लागि एनएचपीसीसँग प्रारम्भिक सम्झौता गर्ने निर्णय गरेको हो । ७५० मेगावाट उत्पादन क्षमताको पश्चिम सेती र ३०८ मेगावाट उत्पादन क्षमताको सेती नदी– ६ आयोजना निर्माणको जिम्मा एनएचपीसीलाई दिनेगरी छिट्टै सम्झौता हुने बाेर्डले जनाएको छ ।
लगानी बोर्डका सहसचिव अमृत लम्सालले ३२७ मेगावाटको अपर मर्स्याङ्दी २ जलविद्युत् परियोजनाको एमओयू गरेर यसको सर्वेक्षणको काम अघि बढाउने निर्णय पनि भएको बताए । त्यस्तै बोर्डको बैठकले तल्लो अरुण जलविद्युत् परियोजना सन्दर्भमा अध्ययन गरेर विस्तृत परियोजना प्रतिवेदनका बाँकी कामहरु गर्ने निर्णय गरेको छ ।
लम्सालले भने ‘अपर मर्स्याङ्दी २ जलविद्युत् परियोजनाको एमओयू गरेर यसको सर्वेक्षणको काम अघि बढाउने भन्ने कुरा भयो । माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको सहजीकरण गर्ने सन्दर्भमा लगानी बोर्डलाई अख्तियारी दिइएको छ ।’ ईकान्तिपुर