सत्ता गठबन्धनले सबै शक्ति उतारे पनि उपेन्द्र यादव हारको तर्फ अग्रसर
बारा । मंसिर ४ को निर्वाचनमा सप्तरी २ बाट पराजित भएका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव अहिले बारा २ मा चुनावी अभियान चलाइरहेका छन् ।
यही वैशाख १० गते हुने उपनिर्वाचनमा यादव बारा २ बाट विजयी भएर संघीय संसदमा प्रवेश गर्ने दाउमा रहेका यादवलाई निकै चुनौतीपूर्ण अवस्था छन् । त्यसका लागि उनले यतिबेला बारा २ मा सबैखाले जोडबल लगाइरहेको देख्न सकिन्छ ।
चुनावमा यादवलाई विजयी बनाउन सत्तारुढ गठबन्धनमा आवद्ध दलका केन्द्रदेखि स्थानीय तहसम्मका नेता कार्यकर्ता कम्मर कसेर लागेपनि उनको पक्षमा जनमत खासै नरहदा उनलाई अहिले टाउको दुखाई एवं प्रतिष्ठाको विषय बनेका छन् ।
तर, ६ महिनाअघि मात्रै सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग फराकिलो (१८ हजारभन्दा धेरै) मतान्तरले पराजित यादव बारामा पनि आफ्नो जितप्रति पूर्ण विश्वस्त छैनन् ।
हिजो सम्ममा उपेन्द्रलाई जिताउन बारा २ मा जसपाका मात्रै होइन, सत्ता गठबन्धनका सबै दलका नेताहरुको दैनिक रुपमा बारा आउनाबाट साफ संकेत थियो कि उपेन्द्रको चुनावी अवस्था निकै हो ।
४ मंसिरको निर्वाचनमा बारा २ मा हालको सत्तारुढ गठबन्धनमा आवद्ध दलका उम्मेदवारले पाएको सबै मत उपेन्द्रलाई ‘ट्रान्सफर’ हुनेमा जसपाकै नेता कार्यकर्ता ढुक्क छैनन् । अघिल्लो निर्वाचनमा गठबन्धनले पाएको सबै मत उपेन्द्रको पक्षमा पार्न जसपाले गठबन्धनमा आवद्ध दलका शीर्ष नेता देखि तिनका भातृ संगठनका स्थानीय कमिटीसम्मलाई परिचालन गरिसकेको छ ।
चुनावमा उपेन्द्रको पक्षमा माहोल बनाउन गठबन्धनले हिजो मात्रै महागढीमाईमा बृहत् आमसभा गर्यो । उक्त आमसभामा प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, अर्का पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायत नेताले सम्बोधन गरेका थिए ।
बारा २ मा यतिबेला उपेन्द्रको मुख्य चुनौतीको रुपमा केही समय अघि मात्रै माओवादी छाडेर जनमत पार्टीमा प्रवेश गरेका शिवचन्द्र कुशवाहाले दिइरहेका छन् । गत ४ मंसिरको निर्वाचनमा कुशवाहा जसपाका रामसहाय प्रसाद यादव (हालका उपराष्ट्रपति) सँग झिनो मतान्तरले मात्रै पराजित बनेका थिए ।
त्यतिबेला यादव १३ हजार ८२२ मत प्राप्त गरेर विजयी हुँदा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार कुशवाहाले १३ हजार ४६८ मत ल्याएका थिए । हालका उपराष्ट्रपतिसँग मंसिर ४ मा जम्मा ३५४ मतान्तरले मात्रै पराजित बनेका तिनै कुशवाहा यो उपनिर्वाचनमा उपेन्द्र यादवलाई पराजित गर्ने अवस्थामा पुगेका छन् ।
हुन त बारा २ मा एमालेका पुरुषोत्तम पौडेल, रवी लामिछाने नेतृत्वको रास्वपाका रमेश खरेल, प्रभु साह नेतृत्वको आमजनता पार्टीका अरुण ज्ञवाली र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीका डा. कमरुल्लाह अन्सारी पनि उम्मेदवार रहेका छन् ।
राजनीतिक दल र स्वतन्त्र गरी बारा २ मा ३६ जनाले उपनिर्वाचनका लागि उम्मेदवारी दिएका छन् । ती मध्ये स्थानीयमा राम्रो प्रभाव भएका कुशवाहालाई नै स्थानीयले उपेन्द्रको मुख्य प्रतिस्पर्धीको रुपमा हेरेका छन ।
बारा २ का मतदाताले कुशवाहालाई उपेन्द्र यादवको मुख्य प्रतिस्पर्धीको रुपमा हेर्नुका केही ठोस आधारहरु छन् । हुन त मंसिर ४ को निर्वाचनमा बारा २ मा प्रत्यक्षतर्फ जसपाका उम्मेदवार संघीय संसदमा विजयी हुँदा यो क्षेत्रबाट समानुपातिक मत पनि सबैभन्दा धेरै जसपाले नै पाएको थियो ।
यतिबेला उपेन्द्र यादव बारा २ मा सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बनेका छन् । उनलाई जसपासँगै कांग्रेस, माओवादी केन्द्र, लोसपा र नेकपा (एकीकृत समाजवादी) को पनि साथ छ । त्यसमाथि गत निर्वाचनमा बारा २ बाट ११ हजार भन्दा धेरै मत ल्याउने स्वतन्त्र उम्मेदवार रामकिशोर यादव (जसपाका केन्द्रीय सदस्य) र १० हजारभन्दा धेरै मत ल्याउने अर्का स्वतन्त्र उम्मेदवार (कांग्रेस महासमिति सदस्य) रविन्द्र प्रसाद यादवले पनि यो निर्वाचनमा उपेन्द्र यादवलाई नै समर्थन गरेका छन् ।
त्यति हुँदाहुँदै पनि यो निर्वाचन उपेन्द्र यादव पूर्णरुपमा सुरक्षित हुन्छन् भनेर ठोकुवा गर्न नसकिने बाराको करैयामाई गाउँपालिकाका पुराना कांग्रेस कार्यकर्ता गंगाप्रसाद कोइराला बताउँछन् । ‘हुन त यहाँ जसपा आफैं बलियो छ । फेरि उपेन्द्र यादवलाई सत्तारुढ गठबन्धनका सबै दलले समर्थन गरेका छन्,’ कोइरालाले भने, ‘तर प्रतिस्पर्धीहरुले उहाँलाई सप्तरीमा चुनाव हारेर आएको पाहुना उम्मेदवार भनिरहेका छन् । यसको प्रभाव चुनावमा पर्न सक्छ ।’
गैरयादव मोर्चा
चुनावमा यादवविरुद्ध गैरयादव समुदायबीच कार्यगत एकता हुन सक्ने सम्भावना पनि बलियो छ । यादवविरुद्ध गैरयादव समुदाय एक भए भने अघिल्लो निर्वाचनमा थोरै मतान्तरले पराजित बनेका शिवचन्द्र कुशवाहाको पक्षमा पल्ला भारी हुन सक्छ ।
शिवचन्द्र कुशवाहा आफैंले उपेन्द्र यादवविरुद्ध जातीय गठबन्धन बन्न सक्ने संकेत गरे ।
‘यो क्षेत्रमा यादव समुदायका मतदाताको संख्या जम्मा २२÷२५ हजार छ । अन्य अल्पसंख्यक जातिको संख्या झण्डै ८० हजार छ,’ कुशवाहाले भने, ‘फेरि सबै यादवले उपेन्द्रलाई नै मतदान गर्छन् भन्ने छैन । यादव भित्रकै उत्पीडित वर्ग समुदायका मतदाताले मलाई मतदान गर्नुहुन्छ भन्ने विश्वास छ ।’
कुशवाहाले बारा २ का सबै माओवादी नेता कार्यकर्ता आफ्नो साथमा रहेको दाबी गरे । ‘यहाँ उपेन्द्रलाई मतदिने पक्षमा कुनै पनि माओवादी छैनन् । सबै माओवादी नेता कार्यकर्ता मेरो चुनावी अभियानमा जोडिनु भएको छ । यहाँ प्रचण्ड नै आएर भाषण गरे पनि केही फरक पर्दैन ।’ उनले भने ।
चुनाव प्रचारको क्रममा शिवचन्द्र कुशवाहासहितका उम्मेदवारले उपेन्द्रलाई बाहिरिया उम्मेदवार, सप्तरीमा हारेर यता आएको, १५ वर्षदेखि लगातार संसद र सरकारमा रहँदा पनि मधेशी जनताको पक्षमा सिन्को नभाँचेको जस्ता आरोप लगाउने गरेका छन् ।
पार्टीको माथिल्लो निकायले उपेन्द्रलाई समर्थन गरे पनि माओवादीका कतिपय स्थानीय नेता कार्यकर्ता खुलेरै शिवचन्द्रको पक्षमा लागेका छन् । उनीहरु उपेन्द्रकै योजनामा गौर हत्याकाण्ड भएको भन्दै उनलाई मतदान गर्न नहुने अभियानसमेत चलाएको श्रोतले बतायो ।
६ महिनाअघि मात्रै सीके राउतसँग सप्तरी २ मा पराजित यादवलाई अहिले बारा २ मा पनि जनमत पार्टीले नै चुनौती खडा गरिदिएको छ, जीत सहज छैनन् उपेन्द्रलाई कहि कतै संघिय संसद छिर्ने बाटो बाराबाट नै बन्द हुन सक्छ भने आशंका समेत व्यक्त गरिएको छ ।