मुक्तेश्वरनाथ महादेव मन्दिर प्राङ्गणमा सरसफाई कार्यक्रम सम्पन्न

कलैया, बारा ।
कलैया उपमहानगरपालिका–२ स्थित मुक्तेश्वरनाथ महादेव मन्दिरको प्राङ्गणमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ। समाजिक अभियान्ता हिरामती आर्याको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा स्थानीय वडा सदस्य, जनप्रतिनिधि, पत्रकार, महिला, समाजसेवी तथा श्रद्धालुहरूको सक्रिय सहभागिता रहेको थियो।
मन्दिर परिसरलाई स्वच्छ, सफा तथा व्यवस्थित बनाउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा सहभागीहरूले मन्दिर वरपर फैलिएको फोहोर संकलन गर्नुका साथै सरसफाई सम्बन्धी जनचेतना समेत फैलाएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष हिरामती आर्याले धार्मिक तथा सार्वजनिक स्थलहरूको संरक्षण र स्वच्छता कायम राख्नु सबै नागरिकको साझा दायित्व भएको बताइन्। उनले आगामी दिनमा पनि यस्ता सामाजिक तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिइन्।
स्थानीयवासीहरूले पनि सरसफाई अभियानको प्रशंसा गर्दै यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरेका छन्।



