प्रदेश समाचारमधेशशिक्षासमाचारस्थानिय
प्रसौनी गाउँपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई नगद र ल्यापटप वितरण

बारा, २८ वैशाख
प्रसौनी गाउँपालिकाले शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले उत्कृष्ट विद्यार्थी सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ। सोमबार गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न तहमा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीलाई नगद पुरस्कार, ल्यापटप तथा प्रमाणपत्र वितरण गरिएको हो।
कार्यक्रम गाउँपालिका अध्यक्ष विनोद प्रसाद जैसवालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष किरण देवी, प्रमुख प्रशासकीय अधिकृत नविन कुमार श्रीवास्तव, वडा अध्यक्षहरू, वडा सदस्यहरू, विद्यालयका प्रधानाध्यापक, शिक्षक, कर्मचारी, विद्यार्थी, इलाका प्रहरी कार्यालयका प्रहरी तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमअन्तर्गत कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याउने पाँच जना छात्र र पाँच जना छात्रालाई जनही पाँच हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो। त्यसैगरी माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट पाँच छात्र र पाँच छात्रामध्ये आठ जनालाई जनही २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।
एसईईमा उत्कृष्ट प्रदर्शन गर्ने दुई जना विद्यार्थीलाई विशेष प्रोत्साहनस्वरूप ल्यापटपसमेत वितरण गरिएको थियो। यस्तै कक्षा ११ मा उत्कृष्ट एक छात्रालाई तथा कक्षा १२ मा उत्कृष्ट एक छात्र र एक छात्रालाई ल्यापटप प्रदान गरिएको कार्यक्रमका आयोजकले जानकारी दिएका छन्।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूलाई शिक्षक डायरी वितरण गर्नुका साथै विद्यालय व्यवस्थापनलाई सहज बनाउन कक्षा तालिका फारमसमेत हस्तान्तरण गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष विनोद प्रसाद जैसवालले शिक्षा क्षेत्रको विकास गाउँपालिकाको प्राथमिकतामा रहेको बताएका छन्। उनले विद्यार्थीलाई मेहनत र प्रतिस्पर्धाप्रति प्रेरित गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्दै आगामी दिनमा पनि शिक्षामा लगानी र प्रोत्साहनलाई निरन्तरता दिइने बताए।
गाउँपालिकाले उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने अभियानले अभिभावक, शिक्षक तथा विद्यार्थीमा सकारात्मक ऊर्जा थपिएको विश्वास व्यक्त गरेको छ।



