
बारा, २८ वैशाख
प्रादेशिक अस्पताल कलैयामा छात्रवृत्ति करार अन्तर्गत कार्यरत स्वास्थ्यकर्मीहरूले पाँच महिनादेखि तलब नपाएको भन्दै आक्रोश व्यक्त गरेका छन्। लामो समयदेखि निरन्तर स्वास्थ्य सेवा प्रदान गर्दै आए पनि पारिश्रमिक नपाउँदा दैनिक जीवनयापन नै कठिन बनेको उनीहरूको गुनासो छ।
स्वास्थ्यकर्मीहरूले पटक–पटक सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको आरोप लगाएका छन्। उनीहरूका अनुसार नियमित रूपमा अस्पतालमा खटिएर बिरामीको सेवा गरिरहे पनि तलब भुक्तानी नहुँदा आर्थिक संकट झेल्न बाध्य भएका छन्।
तलब नपाउँदा घरभाडा, खाद्यान्न, बालबालिकाको अध्ययन तथा अन्य दैनिक खर्च व्यवस्थापन गर्न समस्या भएको स्वास्थ्यकर्मीहरूको भनाइ छ। कतिपय स्वास्थ्यकर्मीले ऋण लिएर जीवनयापन गर्नुपरेको अवस्थासमेत रहेको बताएका छन्।
आक्रोशित स्वास्थ्यकर्मीहरूले अब पनि तलब तत्काल खातामा जम्मा नगरिए अस्पतालमा प्रदान गरिने सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्न बाध्य हुने चेतावनी दिएका छन्। उनीहरूले सरकार तथा सम्बन्धित निकायलाई समस्या समाधानमा गम्भीर बन्न आग्रह गरेका छन्।
स्वास्थ्यकर्मीहरूको आन्दोलनका कारण अस्पतालको नियमित सेवा प्रभावित हुन सक्ने देखिएको छ। यदि सेवा अवरुद्ध भए बिरामी तथा सेवाग्राहीहरू प्रत्यक्ष रूपमा प्रभावित हुने भन्दै स्थानीयस्तरमा चिन्ता व्यक्त हुन थालेको छ।
स्वास्थ्यकर्मीहरूले आफूहरूको मागप्रति बेवास्ता नगरी तत्काल बक्यौता तलब उपलब्ध गराउन तथा भविष्यमा यस्तो समस्या दोहोरिन नदिन स्थायी समाधान गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।



