पत्रकार महासंघ बाराको बैठकमै पत्रकार कुटिए

नेपाल पत्रकार महासंघ बारा शाखाको कार्यसमिति बैठकमै कुटपिट भएको छ। आगामी जेठ ९ गते हुने वार्षिक साधारणसभा तथा पुरस्कार वितरणसम्बन्धी तयारीका लागि बुधबार दिउँसो कलैयास्थित महासंघ कार्यालयमा बसेको बैठक तनावग्रस्त बनेपछि पत्रकार धिरेन्द्र तिवारीमाथि हातपात भएको हो।
बैठकका क्रममा महासंघका सचिव पुष्पराज खतिवडासँग विवाद चर्किएपछि आफूमाथि एक्कासी आक्रमण भएको तिवारीले बताएका छन्। उनका अनुसार विवाद बढ्दै जाँदा खतिवडाले हातको बुढीऔँलामा टेकेर घाइते बनाएको र पछि बेल्चाले समेत प्रहार गरेको उनको आरोप छ।
‘बैठक चलिरहेकै बेला ममाथि एक्कासी आक्रमण भयो। मेरो हातको बुढीऔँला रगताम्मे हुने गरी टेकियो र कुटपिट गरियो,’ तिवारीले भने, ‘त्यसपछि अरु केही व्यक्तिहरूले समेत ममाथि हातपात गरे।’
घटनामा संलग्न भनिएका तिवारी र खतिवडा दुवै प्रेस चौतारीनिकट पत्रकार हुन्। महासंघले प्रदान गर्ने पुरस्कार वितरणमा अध्यक्ष, सचिवलगायत केही पदाधिकारीले आर्थिक चलखेल गरेको भन्ने आरोप लागेपछि तिवारीसहित केही कार्यसमिति सदस्यहरूले त्यसको विरोध गर्दै आएका थिए। सोही विषयलाई लिएर बैठकभित्रै बहस चर्किँदै गएपछि अवस्था तनावपूर्ण बनेको बताइएको छ।
बैठककै क्रममा प्रेस चौतारीका जिउतप्रसाद यादव र प्रेस युनियनका प्रभु प्रसाद यादवबीच समेत भनाभन हुँदै कुर्सी हानाहानको अवस्था सिर्जना भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। त्यसपछि बैठक अवरुद्ध बनेको छ भने कार्यालय परिसरमै असहज वातावरण सिर्जना भएको थियो।
यता नेपाल पत्रकार महासंघ बारा शाखाका सहसचिव तथा सूचना अधिकारी इन्दीप कोइरालाले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै बैठकमै भएको कुटपिटको घटनाले संस्थाको गरिमा र अनुशासनमा गम्भीर प्रश्न उठाएको बताएका छन्। उनले आफू सो बैठकमा उपस्थित हुन नसकेको स्पष्ट पार्दै यदि उपस्थित भएको भए स्थिति नियन्त्रणमा लिन सक्ने दाबी गरे।
कोइरालाका अनुसार महासंघजस्तो पेशागत संस्थाभित्र यस प्रकारको हिंसात्मक घटना हुनु अत्यन्तै दुर्भाग्यपूर्ण हो र यसले सम्पूर्ण पत्रकार समुदायको छविमा नकारात्मक असर पारेको छ। उनले घटनाको वास्तविक कारण र संलग्न पक्षहरूको पहिचान गर्न निष्पक्ष छानबिन आवश्यक रहेको उल्लेख गर्दै, आवश्यकता परे छानबिन समिति गठन गर्ने वा कानुनी प्रक्रिया अघि बढाउन प्रहरीको सहयोग लिने बताए।
उनले सबै पक्षलाई संयमित रहन आग्रह गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन संस्थागत अनुशासन र आपसी समन्वय मजबुत बनाउनुपर्नेमा जोड दिए।
पत्रकार महासंघ बाराका अध्यक्ष रमेश बहादुर क्षेत्री र सचिव पुष्पराज खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएको छ।



