Modern technology gives us many things.

उपेन्द्र यादवलाई बारामा पनि आच्छु आच्छु, कुशवाहाको अग्रता

74

सेतोपाटी निर्वाचन विश्लेषण-१

पोहोर मंसिरमा भएको निर्वाचनमा सप्तरीबाट हारेका जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव संसदमा पुग्न आगामी वैशाख १० गते हुने निर्वाचनमा बारा-२ बाट लड्दै छन्।

जसरी पनि संसदमा पुग्ने आफ्नो महत्वकांक्षा पूरा गर्न यादवले बारा-२ बाट निर्वाचन जितेका जसपा सांसद रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति बनाएका थिए। जसपाको राम्रो संगठन रहेको बारा-२ मा सत्ता गठबन्धनका कांग्रेस, माओवादी लगायतको समर्थनमा निर्वाचन जितिने आकलनसहित चुनावमा होमिएका यादव अहिले अप्ठ्यारोमा छन्।

उनलाई सिके राउत नेतृत्वको जनमत पार्टीका शिवचन्द्र कुशवाहाले आच्छु आच्छु पारेका छन्। चुनाव आउन एक साता बाँकी रहँदा निर्वाचनको दौडमा कुशवाहा नै केही अघि देखिएका छन्।

बारा-२ को चुनाव विश्लेषण गर्न पछिल्ला केही दिनमा हामी यो निर्वाचन क्षेत्रमा पर्ने तीन नगर र तीन गाउँपालिकाका ४४ वटै वडा पुगेर मतदातासँग कुरा गरेका छौं। हामीले कोल्हवीको वडा नम्बर ८, महागढीमाई नगरपालिका, पचरौता नगरपालिका र सुवर्ण, देवताल, करैयामाई गाउँपालिकाका सबै वडाका ५६० मतदातासँग प्रत्यक्ष भेटेर कुरा गर्‍यौं।

हेर्नुस् पाइचार्ट:

हामीले भेटेकामध्ये सबभन्दा धेरै १९९ जनाले (३५.६ प्रतिशत) जनमत पार्टीका उम्मेदवार कुशवाहालाई मत दिन्छु भनेका छन्। दोस्रोमा जसपा अध्यक्ष यादवलाई १६१ जनाले (२८.८ प्रतिशत) मत दिन्छु भनेका छन्।

तेस्रो स्थानका लागि भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रमेश खरेल र एमाले उम्मेदवार पुरूषोत्तम पौडेलबीच कडा प्रतिस्पर्धा देखिएको छ। हामीले कुरा गरेकामध्ये ६२ जनाले (११ प्रतिशत) खरेललाई मत दिन्छु भनेका छन् भने ५९ जनाले (१०.५ प्रतिशतले) ले एमालेका पुरूषोत्तम पौडेललाई।

प्रभु साह नेतृत्वको जनता पार्टीका अरूण ज्ञवालीलाई मत दिन्छु भन्ने ३१ जना (५.५ प्रतिशत) भेटिए भने ४८ जनाले (८.६ प्रतिशत) कसलाई मत दिने निर्णय नगरिसकेको वा नभन्ने बताए।

यो अध्ययनको ‘मार्जिन अफ एरर’ (मत प्रतिशत तलमाथि हुन सक्ने सम्भावना) ४.५ प्रतिशत छ। अर्थात यो स्टोरीमा कुनै पनि उम्मेदवारले पाउँछन् भनिएको मत प्रतिशत ४.५ प्रतिशत बिन्दुले तलमाथि हुन सक्छ।

यसका आधारमा बारा-२ मा यसपालि मुख्य प्रतिस्पर्धा मधेसमा आफ्नो राजनीतिक विरासत जोगाउन संघर्ष गरिरहेको जसपा र मधेसको मुख्य शक्ति बन्ने दौडमा जसपामाथि दबाब बढाउँदै लगेको जनमत पार्टीबीच नै हुने देखिन्छ।

निर्वाचनको दौडमा जनमतका उम्मेदवार कुशवाहा नै अगाडि देखिए पनि उनको विजय र यादवको हार सुनिश्चित भएको भने होइन। किनभने उनीहरूले पाउने मत प्रतिशत त्यति धेरै फराकिलो छैन। अन्तिम समयमा यादवले केही प्रतिशत मात्र मत बढाए र कुशवाहाको मत केही प्रतिशत घट्यो भने पनि दुईबीच कडा प्रतिस्पर्धा हुनेछ।

हामीले मतदातासँग चुनावको सात दिनअघि नै कुरा गरिसकेका छौं। मतदाताले अन्तिममा गएर मत बदल्न सक्ने हुनाले पनि चुनावअघि गरिने सर्वेक्षणको पूर्ण भर नहुने संसारभर गरिने सर्वेक्षणहरूको परिणामले देखाएको छ।

बारा- २ मा यादव र कुशवाहाबीच ७ प्रतिशत मतको फरक धेरै साँघुरो पनि होइन। यो राम्रो अग्रता हो। अन्तिम समयमा यादवले केही प्रतिशत मत बढाउने र कुशवाहाको मत घट्ने सम्भावना जति हुन्छ, कुशवाहाको मत बढ्ने र यादवको घट्ने सम्भावना पनि त्यति नै हुन्छ। त्यस्तो भयो भने कुशवाहाले राम्रो अग्रताका साथ चुनाव जित्नेछन्।

आफ्नो पार्टीको बलियो प्रभाव भएको बारा-२ मा संगठन नै नभएको जनमत पार्टीको उम्मेदवारले आच्छु आच्छु पार्नु यादवका लागि ठूलो चुनौतीको विषय हो। केही महिनाअघि यहाँ भएको निर्वाचनको मत परिणाम हेर्ने हो भने यादवलाई चुनाव जित्न कुनै कठिनाइ नहुनुपर्ने हो।

मंसिरमा भएको निर्वाचनमा यो क्षेत्रमा जसपाका उम्मेदावार विजयी मात्र भएका थिएनन्, सो दलले समानुपातिकतर्फ पनि सबभन्दा धेरै मत ल्याएको थियो। उसले १३ हजार २४२ मत ल्याउँदा दोस्रो भएको दल कांग्रेसले ११ हजार १७९ मत ल्याएको थियो। तेस्रोमा एमालेको ९ हजार १९३ मत थियो। चौथोमा जनमत पार्टीको ८ हजार ८४६ मत थियो भने पाँचौंमा लोसपाको ४ हजार २२५ मत छ। अनि माओवादीको ३ हजार २५६ मत छ।

यसपालि बारा-२ मा सत्ता गठबन्धनका तीनै दल कांग्रेस, माओवादी र लोसपाले जसपालाई सघाएका छन्। जसपासहित यी तीनै दलको समानुपातिक मत जोड्ने हो भने ३१ हजार ९ सय २ मत हुन्छ। जबकि जनमत पार्टीको करिब ९ हजार मात्रै मत छ। र एमालेले आफ्नै उम्मेदवार उठाएको छ।

त्यसमाथि मंसिरको निर्वाचनमा जसपाबाटै बागी उठेर ११ हजार ४३ मत ल्याएका रामकिशोर प्रसाद यादव र कांग्रेसबाट असन्तुष्टि जनाउँदै उम्मेदवार बनेर १० हजार ७५० मत ल्याएका रवीन्द्रप्रसाद यादवले यसपालि उपेन्द्र यादवलाई नै समर्थन गरेका छन्।

गएको चुनावयता पाँच महिनाको अन्तरालमा बारा-२ को राजनीतिक खेल मैदानमा के त्यस्तो परिवर्तन भयो जसकारण जसपा अध्यक्ष उपेन्द्र यादव आफ्नो राजनैतिक जीवनकै सबभन्दा कठिन चुनौती बेहोर्दै छन्?

पहिलो कारण, उनलाई पाँच महिनाअघि जसले सप्तरी-२ मा ठूलो मतान्तरले चुनाव हरायो, त्यही व्यक्तिका कारण बारा-२ मा पनि उनी अप्ठ्यारोमा छन्। अर्थात बारा-२ मा उम्मेदवार नै नरहेका जनमत पार्टीका अध्यक्ष सिके राउतका कारण संसद पुग्ने यादवको योजना धरापमा पर्न सक्ने देखिएको छ।

बारा-२ मा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहा भए पनि यो निर्वाचन क्षेत्रका गाउँटोलमा चर्चा सिके राउत र उपेन्द्र यादवको छ। बारा-२ को यो उपनिर्वाचन सप्तरी-२ को ‘रि-म्याच’ जस्तो देखिएको छ। त्यसैले यहाँ यादवले कुशवाहालाई होइन सिके राउतलाई हराउनु पर्नेछ! सजिलो ठानिएको यो निर्वाचन क्षेत्रमा यादवलाई गाह्रो पर्नुको प्रमुख कारण यही हो।

जनमत पार्टीको चुनाव चिह्न लाउड स्पीकरमा (त्यहाँका मतदाताको भाषामा हरन छाप) मत हाल्छु भन्ने अधिकांश मतदाताले पनि हामीसँग पहिला सिके राउतकै नाम लिए।

घर, टोल, चोक र खेतबारीमा भेटिएका मतदातालाई यसपालि यहाँ निर्वाचनको माहोल कस्तो छ भन्ने प्रश्न सोध्न नपाउँदै धेरैले ‘उपेन्द्र यादव र सिके राउतको कडा टक्कर छ’ भन्छन्।

जनमत पार्टीले पाउने मतको ठूलो अंश राउतकै कारण आउँछ भन्ने यहाँको माहोलले देखाउँछ। राउतको सबभन्दा धेरै ‘क्रेज’ बालबालिका, युवा, महिला, गरिब र दलितहरूमा छ। सामान्यतया तराईमा महिलाहरू नौलो वा नचिनेका मान्छेसँग बोल्न खोज्दैनन्। तर कतिपय ठाउँमा हामीले पुरूष मतदातासँग कुरा गरिरहँदा महिलाहरू अघि सरेर सिके राउतलाई मत दिने बताए।

पचरौता नगरपालिका-३ की विनितादेवी पटेलको घरमा हामी पुग्दा एक जना पुरूष बाहिर बसिरहेका थिए। हामीले उनीसँग कुरा गरेको सुनेपछि विनितादेवी घरबाट बाहिर निस्किइन् अनि एकै सासमा भनिन्, ‘हामी त सिके राउतलाई भोट दिने।’

उनले यसअघि एमालेलाई भोट दिएको पनि बताइन्।

करैयामाई गाउँपालिका-८ नरहीचोकमा एक जना वृद्ध भेटिए। नाम बताउन नचाहने उनले गएको चुनावमा जसपालाई भोट दिएका रहेछन्। यसपटक जनमतलाई दिने बताए। आफ्नो घरका सबैले राउतलाई भोट दिने बताए। हामीले उनीसँग कुरा गरिरहेका बेला त्यही घरका एक जना बालकले दगुर्दै आएर कसैको मोबाइलमा भएको सिके राउतसँग खिचेको टिकटक देखाए।

हामी आँगनमा पुग्दा महागढीमाई नगरपालिका-६ की बाचीदेवी चौरासिया घरभित्र काम गर्दै थिइन्। कसलाई भोट दिने भनेर सोध्नासाथ उनले सिके राउतलाई भनिन्। जनमत पार्टीको उम्मेदवार को हो त भन्दा उनले बताउन सकिनन्। उनकी छोरीले भनेपछि मात्रै शिवचन्द्र कुशवाहा भनिन्।

हामीले सोध्यौं— किन मत दिने त राउतको पार्टीलाई?

‘सिके राउतले देशमा केही गर्छ। किसानका लागि काम गर्छ। नयाँ पार्टीलाई मौका दिनुपर्छ,’ उनले भनिन्, ‘उपेन्द्रले केही गल्ती गरेर त त्यहाँ हराएका हुन्। उताबाट हारेको मान्छेलाई हामीले किन जिताउने?’

सिके राउतले पनि यो उपनिर्वाचन ‘अब मधेसको नेता म हुँ’ भनेर स्थापित गर्ने ठूलो अवसर हो भन्ने बुझेका छन्। त्यसैले उनले सम्पूर्ण तागत लगाएका छन्। उनी अहिले अधिकांश समय बारामै बस्छन्। उनले निर्वाचनलाई लक्षित गरेर स्वाभिमान यात्रा चलाएका छन्। त्यसक्रममा उनी प्रत्येक वडा पुगेका छन्। टोलमा सँगै बसेर धेरैसँग चिया खान्छन्। खेतमा काम गरिरहेकालाई बोलाउँछन्। मतदातासँग सजिलै घुलमिल हुन्छन्। मन्द र मीठो मुस्कान त सिके राउतको ट्रेडमार्क नै भइहाल्यो!

उपेन्द्र यादव र सिके राउतको व्यक्तित्व र नेतृत्व शैलीबीचको फरक पनि यहाँका मतदाताले यसपालि नजिकबाट देख्न पाएका छन्। त्यसले पनि यादवलाई सहयोग गरेको छैन।

यादव पनि गाउँगाउँमा पुगेका छन् तर गाडीका लावालश्करका साथ। सबैलाई नमस्कार गर्छन्, मत माग्छन्। तर मतदातासँग बसेर विरलै कुरा गर्छन्। खुला संवाद यादव व्यक्तित्वको बलियो पक्ष होइन। न उनका आँखा धेरै बोल्छन्, न त उनी उन्मुक्त खुलेर हाँस्न सक्छन्।

धेरै मतदाताको गुनासो छ— यादवले आफ्ना कुरा सुनेका छैनन्। आफूहरूसँग बसेर कुरा गरेका छैनन्।

जसपा बलियो भएको क्षेत्रमा यादवलाई अप्ठ्यारो पर्नुको दोस्रो कारण हो पाँच महिनाभित्र सांसद बन्ने उनको दोस्रो प्रयास। त्यो पनि अर्कै निर्वाचन क्षेत्रबाट।

महागढीमाई-११ का उमेश जयसवालले यादवले पाँच वर्ष नकुरेको भन्दै आक्रोश पोखे।

‘सप्तरीदेखि पाँच जिल्ला कटेर यहाँसम्म किन आउनपर्‍यो? यहाँ पनि नेता छन्। एउटा चुनाव हारेपछि अर्को चुनावसम्म कुर्न नसक्ने हुन्छ?,’ उनले भने, ‘म पहिला माओवादी हो। यसपटक हरन छापमा भोट दिने हो। उपेन्द्रलाई त हराउनै पर्छ।’

धेरै मतदाताले भर्खरै सप्तरीमा चुनाव हारेर फेरि यहाँ आएको भन्दै यादवप्रति असन्तुष्टि पोखे। त्यसै पनि यादवलाई निर्वाचन क्षेत्र परिवर्तन गरिरहेको आरोप छ। २०६४ सालदेखि अहिलेसम्म धेरै निर्वाचन क्षेत्र परिवर्तन गर्नेमा सम्भवतः माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र यादव नै पर्छन्। यादवले सुनसरी, मोरङ र सप्तरीबाट चुनाव लडिसकेका छन्।

२०६४ सालदेखि लगभग निरन्तर संसदमा र कैयनपटक सरकारमा पनि गएका यादवले राजनीतिलाई सत्तामा जाने भर्‍याङ मात्रै बनाएको तर मधेसका जनताका लागि खासै केही नगरेको आरोप पनि कतिपयले लगाए।

देवताल गाउँपालिका-३ का वीरन कुशवाहाले उपेन्द्र यादव सत्तामा आएर के गरेका छन् भनेर प्रश्न गरे?

‘मधेस आन्दोलनको बलमा नेता बनेर उपेन्द्रले के गरे? उनी सधैं सरकारमा गएका छन् तर जनताका लागि केही गरेका छैनन्,’ उनले भने, ‘मैले पहिला जसपालाई भोट दिएको हो तर अब दिन्नँ। यसपटक हामी सबैले सिके राउतलाई भोट दिने हो।’

चौथो कारण चाहिँ पाँच महिनाअघिको चुनावमा यो निर्वाचन क्षेत्रबाट माओवादी पार्टीको उम्मेदवार बनेर केही सय मतले मात्र पराजित भएका शिवचन्द्र कुशवाहालाई जनमत पार्टीले आफ्नो उम्मेदवार बनाउनुले पनि सो दलको पक्षमा माहोल बनाउन केही सहयोग पुगेको छ।

कुशवाहा जसपाका उम्मेदवार वर्तमान उपराष्ट्रपति रामसहाय यादवसँग करिब ३५५ मतले पराजित भएका थिए।

त्यसले गर्दा पनि कुशवाहाप्रति मतदातामा केही सहानुभूति देखिन्छ। पाँच महिनाअघि सत्ता गठबन्धनका उम्मेदवारका रूपमा उनलाई कांग्रेस, माओवादी, लोसपाका कतिपय मतदाताले पनि मत दिएका थिए। उनीहरूका लागि यसपालि पनि कुशवाहालाई मत दिनु कुनै नौलो कुरा भएन। त्यसबाहेक यो निर्वाचन क्षेत्रमा कांग्रेस, माओवादी, लोसपाका कार्यकर्ता र समर्थकले नयाँ दल जनमत पार्टीलाई भन्दा जसपालाई नै आफ्नो प्रमुख प्रतिस्पर्धी ठान्छन्। त्यसैले उनीहरूका लागि यादवलाई हराउने यो राम्रो मौका पनि हो।

हामीले कुरा गरेका यी दलका धेरै कार्यकर्ता र समर्थकले यसपालि कुशवाहालाई मत दिने बताए।

यही कारणले हो अघिल्लो चुनावमा जनमत पार्टीका उम्मेदवार राजेश साहले २ हजार ७२५ भन्दा कम मत पाए पनि यसपालि कुशवाहा चुनावी दौडमा अग्रपंक्तिमा छन्।

यो सबैको अर्थ यादवले पक्कै चुनाव हार्दैछन् भन्ने निष्कर्ष पक्कै होइन। जति मतदाताले यादवलाई मत दिन्छौं भनेका छन्, त्यसले उनलाई अहिले पनि बलियो प्रतिस्पर्धीका रूपमा उभ्याएको छ। अझै पनि चुनाव जित्न सक्ने आधार बनेको छ। यत्ति हो, उनी यो दौडको अग्रपंक्तिमा भने छैनन्।

यादवलाई मधेसको पहिचान आन्दोलनको सबभन्दा बलियो नेता मान्ने बारा-२ मा पनि धेरै मतदाता छन्। काठमाडौंले गरेको विभेदविरूद्ध उभिएको र मधेसीलाई आत्मसम्मान दिलाउन काम गरेको नेताका रूपमा उनलाई मान्ने धेरै छन्। त्यो संघर्षको हिसाबले कसैले पनि सिके राउतलाई यादवको भन्दा धेरै जस दिँदैनन्। दुई-दुईपटक मधेस आन्दोलनको नेतृत्व गरेकाले पनि पहिचान र स्वाभिमानको आन्दोलनको विरासत यादवसँगै छ।

महागढीमाई-११ का अजय गिरीले ‘म मधेसी हुँ’ भनेर गर्वका साथ भन्न सक्ने बनाएको जस उपेन्द्र यादवलाई नै दिए। यसपालि पनि उनलाई नै मत दिनुको प्रमुख कारण पनि पहिचानसँग जोडिएको उनले बताए।

‘काठमाडौंमा हाम्रो कुनै महत्व थिएन। सबैले हेप्ने, हेला गर्ने गरेका थिए। अहिले अवस्था फेरिएको छ,’ उनले भने, ‘संसदमा सिके राउत र उपेन्द्र यादव दुवै चाहिन्छ। उपेन्द्रले नागरिकता र अरू थुप्रै मुद्दा उठाएका छन्।’

पचरौता नगरपालिका-५ पकडियाका ममताज अन्सारीलाई पनि नागरिकता कानुन पास गर्न यादवले दबाब दिन सक्ने विश्वास छ।

‘जन्मसिद्ध नागरिकको सन्तानले नागरिकता नपाउँदा मेरा छोराहरू विदेश जान पाएका छैनन्। उपेन्द्रजी संसदमा पुगेपछि हामीले आशा गर्ने ठाउँ हुन्छ,’ उनले भने, ‘सप्तरीदेखि यहाँ किन आएको भनेर भन्न मिल्दैन। गुजरातका नरेन्द्र मोदीले पनि बनारसबाट जितेका छन्।’

बारा-२ निर्वाचन क्षेत्रमा राजमार्ग नजिकैको कोल्हवी नगरपालिकादेखि दक्षिणमा भारतको सीमासँग जोडिएका दुई गाउँपालिका पनि पर्छन्। यो निर्वाचन क्षेत्रका मतदाता दक्षिणी भेगमै धेरै बस्छन्। यहाँका करिब सवा लाख मतदातामध्ये तीन-चार हजार मात्रै पहाडी मूलका छन्। यादव नै यहाँको सबभन्दा ठूलो समुदाय हो। त्यसपछि मधेसमा पचपौनिहा भनिने समुदाय जसमा शिवचन्द्र कुशवाहा पनि पर्छन्, यो समुदायको पनि ठूलो उपस्थिति छ। यहाँ मधेसी दलित, थारू, मुस्लिम मतदाता पनि छन्।

भारतसँग सीमा जोडिएका देवताल र सुवर्ण गाउँपालिकामा जसपा र जनमतको मात्रै प्रतिस्पर्धा भएको देखिन्छ। देवताल गाउँपालिकामा जनमत पार्टी निकै बलियो छ भने सुवर्णमा दुई पार्टीबीच कडा टक्कर छ। अरू पार्टी प्रतिस्पर्धामा देखिँदैनन्।

भारतसँगै सिमाना जोडिएको पचरौता नगरपालिकामा भने जसपा, जनमतसँगै कतिपय वडाहरूमा एमाले पनि प्रतिस्पर्धामा छ। स्थानीय निर्वाचनमा कांग्रेसले जितेको महागढीमाई नगरपालिकामा मुख्य प्रतिस्पर्धी जसपा र जनमत नै हुन्। यहाँ पनि कतिपय वडामा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र आम जनता पार्टी समेत प्रतिस्पर्धामा आएका छन्। करैयामाई गाउँपालिकामा पनि यी सबै पार्टीको उपस्थिति छ।

राजमार्ग नजिकैको कोल्हवी नगरपालिकाको वडा ८ मा भने एमाले र रास्वपाको प्रतिस्पर्धा छ। यहाँ एमालेका धेरै भोट रास्वपाले काट्ने प्रष्ट देखिन्छ।

यसपालि मत कहाँबाट कतातिर जाँदैछ?

यहाँ सबैभन्दा अघि रहेको जनमत पार्टीले सबभन्दा धेरै मत जसपाकै तान्ने देखिन्छ। जनमत पार्टीलाई भोट दिन्छु भनेर भेटिएका १९९ जनामध्ये गत मंसिरमा ५८ जनाले जसपालाई भोट दिएको बताए। अस्ति माओवादीलाई मत दिएको बताउने २७ जनाले यसपालि जनमतलाई भोट दिन्छु भनेका छन्। आफू कांग्रेसको समर्थक रहे पनि १६ जनाले यसपालि जनमतलाई मत दिने बताए। त्यस्तै पाँच महिनाअघि स्वतन्त्र उम्मेदवारलाई मत दिएका १८ जनाले यसपटक जनमतलाई मत दिने बताए। विभिन्न कारणले मंसिरमा मतदान नगरेका ११ जनाले पनि जनमतलाई नै भोट दिन्छु भनेका छन्। बाँकीले पहिले कसलाई मत दिएको भनेर खुलाउन चाहेनन्।

जसपालाई भोट दिन्छु भन्ने १६१ जनामध्ये ९५ जनाले यसअघि जसपालाई नै भोट दिएका थिए। आफू कांग्रेस समर्थक रहेको तर गठबन्धन भएकै कारण जसपालाई मत दिन्छु भन्नेको संख्या २९ छ। आफू एमाले रहेको तर जसपालाई मत दिन्छु भन्ने ४ जना छन्। मंसिरमा स्वतन्त्र उम्मेदवारलाई दिएको तर यसपटक जसपालाई मत दिनेको संख्या १८ छ। जसपालाई मत दिन्छु भन्नेमध्ये ६ जनाले मंसिरमा विभिन्न कारणले मतदान गर्न पाएनन्। माओवादी भए पनि जसपालाई मत दिनेको संख्या भने ९ जना छ।

रास्वपालाई मत दिन्छु भन्ने ६२ जनामध्ये अघिल्लो पटक जसपालाई मत दिएका १६ जना छन्। आफूलाई कांग्रेस समर्थक बताउने ९ जना र एमाले समर्थक बताउने ३ जनाले रास्वपालाई भोट दिन्छु भनेका छन्। ६ जनाले भने पहिलो पटक मत दिन लागेको बताए। बाँकीले पहिले कसलाई मत दिएको भनेर भन्न चाहेनन्।

रास्वपालाई मत दिन्छु भन्नेहरूले यो पार्टीका उम्मेदवार रमेश खरेल र सभापति रवि लामिछाने दुवैका नाम लिएका छन्।

करैयामाई-७ पिपरा बनियाकी सुशीला चौधरीले मंसिरको चुनावमा विभिन्न कारणले मतदान गर्न नपाएको तर यसपटक घन्टीमा मतदान गर्ने बताइन्।

‘खरेल सर राम्रो मान्छे हो। उहाँले वीरगन्जमा एसपी हुँदा धेरै राम्रो काम गर्नुभयो। यहाँ पनि जित्नुभयो भने काम गर्नुहुन्छ,’ उनले भनिन्, ‘रवि दाइले पनि काम गर्न खोज्नुभएको हो। अब चुनाव जितेर केही गर्नुहुन्छ भन्ने आश छ।’

यो क्षेत्रका मतदाताले खरेललाई ‘एसपी खरेल’ भनेर चिन्छन्। नेपाल प्रहरीको डिआइजीबाट स्वैच्छिक अवकास लिएका खरेलले आफ्नो प्रचार समेत एसपी खरेल भनेर गराएका छन्।

कोल्हवी-८ बेलुवा बजारकी कविता सुवेदीले यसअघि एमालेलाई भोट दिएकी हुन्। तर यसपटक घन्टीलाई मत दिने मन बनाएकी छन्।

‘म एमालेमै भए पनि यसपटक घन्टीलाई भोट दिन्छु। यसो भन्न मलाई कुनै डर छैन। किनकि यसपटक खरेल सरलाई मौका दिनुपर्छ,’ उनले भनिन्।

एमालेलाई मत दिन्छु भन्ने ५९ जनामध्ये सबैले आफू एमाले भएकाले मत दिन लागेको बताए। यसरी एमाले यसपालि अरू कुनै दलको मत तान्ने देखिँदैन। बरू उसको मत चुहिएर अरू दललाई गएको छ। त्यसैले पनि एमाले यहाँ कमजोर देखिन्छ र तेस्रो स्थानका लागि रास्वपासँग प्रतिस्पर्धा छ।

पचरौता- ६ पकडियाका हरेन्द्रप्रसाद यादवले आफू विगतमा एमाले रहेको र अहिले पनि उसैलाई भोट दिने बताए।

‘मंसिरमा गठबन्धन भएकाले जसपालाई भोट दिएको हो। अहिले त हाम्रै पार्टीको उम्मेदवार छ। त्यसैले एमालेलाई भोट दिने हो,’ उनले भने।

बारा २ को निर्वाचनमा जातीय ‘फ्याक्टर’ पनि महत्वपूर्ण छ। उपेन्द्र यादवलाई यादव समुदायको सहानुभूति छ। यद्यपि सबै यादवले उनलाई मत दिन्छन् भन्ने होइन। अधिकांश यादवको भोट उनले पाउने अनुमान यहाँ धेरैको छ। यो क्षेत्रमा रहेका एक लाख ६ हजार मतदातामध्ये २५ देखि २८ हजार यादव मतदाता छन्। अरू मत धेरैतिर बाँडिने अनि यादवहरूको बहुसंख्यक मत उपेन्द्र यादवलाई जाने हुँदा उनलाई यसले केही राहत दिन्छ।

तर कतिपय गैरयादव मतदाताहरू यादव समुदायको मत उपेन्द्र यादवलाई जाने हुँदा उनलाई हराउन पनि शिवचन्द्र कुशवाहालाई मत दिने मनस्थितिमा छन्। पचरौता-९ कुडुवाका रवीन्द्रप्रसाद गुप्ताले आफूहरू एमाले भए पनि यादवलाई हराउन यसपटक जनमतलाई भोट दिने बताए।

‘हामीले एमालेलाई भोट दियौं भने त्यसको फाइदा उपेन्द्रलाई हुन्छ। त्यसैले यसपटक हरन (जनमत) लाई दिने हो,’ उनले भने, ‘उपेन्द्रलाई जिताएर केही फाइदा छैन। त्यसैले शिवचन्द्रलाई जिताउने हो।’

जनमतको पक्षमा खुलेकाहरू भित्रभित्रै अझै बढी समर्थक रहेको दाबी गर्छन्। महागढीमाई-२ का अनिलप्रसाद कुशवाहाले ‘चुपचाप हरन छाप’ भन्ने अभियान रहेको समेत दाबी गरे।

‘उपेन्द्र यादवलाई यहाँ गाह्रो छ। आफ्नो घरमा राम्रोसँग बस्न नसक्ने अनि यहाँ आएर हुन्छ! आफ्नो क्षेत्रमा राम्रो काम गरेको भए यो हालत हुन्थेन,’ उनले भने, ‘बारावासीलाई पैसा दिए लिने हो, मासु खुवाए खाने हो। अनि चुपचाप हरन छाप भन्ने हो।’

बाराको निर्वाचनमा कांग्रेस फ्याक्टर पनि निर्णायक हो। गठबन्धन भएकै आधारमा उपेन्द्र यादवलाई भोट दिन्छन् भन्ने होइन। हामीले भेटेका कांग्रेस समर्थकमध्ये धेरैले यादवलाई भोट दिन्छु भनेको भए पनि मत बाँडिएको छ। कांग्रेस समर्थकले जसपा, जनमत र रास्वपालाई आफ्नो मत दिने मनस्थिति बनाएका छन्।

महागढीमाई-११ का सुरेन्द्रप्रसाद यादवले आफू कांग्रेस समर्थक भए पनि पार्टीले गठबन्धन गरेकाले जसपालाई भोट दिने बताए।

‘हाम्रो पार्टीको उम्मेदवार छैन। गठबन्धनको उम्मेदवार उपेन्द्र यादव हो। उहाँलाई मतदान गर्ने हो,’ उनले भने।

सुवर्ण गाँउपालिका-३ का इन्द्रजितप्रसाद यादवले उपेन्द्र यादव मन्त्री भएर पनि मधेसका लागि केही नगरेको बताए।

‘म कांग्रेस समर्थक हो तर यसपटक हरन (जनमत) भोट दिन्छु,’ उनले भने, ‘मलाई सिके राउत मनपर्छ। उपेन्द्र यादवले भन्दा सिके राउतले राम्रो गर्छ भन्ने आशा छ।’

कोल्हवी-८ की सुमित्रा काफ्लेले आफू कांग्रेसको क्रियाशील सदस्य भए पनि घन्टीलाई भोट दिने बताइन्।

‘मैले मत बदले पनि पार्टी बदलेको छैन। फेसबुकमा समेत घन्टीको प्रचार गरेको छु। यसपटक यसमै भोट दिने हो,’ उनले भनिन्।

आम जनता पार्टीका अरूण ज्ञवालीलाई मतदान गर्छु भन्नेहरू ३१ जना छन्। उनले गत मंसिरमा भएको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर ७ हजार ६९८ मत ल्याएका थिए। कानुन व्यवसायी पृष्ठभूमिका ज्ञवाली महागढीमाई र करैयामाईका केही वडाहरूमा लोकप्रिय छन्। यो समाचार सेतोपाटि बाट साभार गरिएको छ ।

Leave A Reply

Your email address will not be published.