प्रदेश समाचारमधेशसमाचारस्थानिय
बर्षौंदेखि सडकमा जलमग्न मौलापुर नगरपालिकाको नमुना विकास

रौतहट २८ बैशाख
रौतहटको मौलापुर नगरपालिका–७ सगैया टोल स्थित सडक वर्षौंदेखि पानी जमेर जलमग्न अवस्थामा रहँदै आएको छ ।
सामान्य वर्षा हुँदा समेत सडक हिलाम्मे, दुर्गन्धित तथा जोखिमपूर्ण बन्ने गरेको भन्दै स्थानीयवासीले गुनासो गरेका छन् । सडकमा पानी जमेर सानो पोखरीजस्तै अवस्था बनेपछि पैदलयात्रु, विद्यार्थी, वृद्धवृद्धा तथा सवारीसाधन सञ्चालनमा दैनिक रूपमा निकै समस्या भइरहेको छ ।
स्थानीयका अनुसार वर्षौंदेखि सडक र पानी निकासको समस्या जस्ताको तस्तै रहेकाले सर्वसाधारणले सास्ती भोग्न बाध्य भएका छन् । सडकमा जमेको फोहोर पानीका कारण वातावरण प्रदूषित हुनुका साथै विभिन्न सरुवा रोग फैलिने जोखिम समेत बढ्दै गएको उनीहरूको भनाइ छ । विद्यालय जाने बालबालिका हिलो र फोहोर पानी पार गर्दै हिँड्न बाध्य छन् भने मोटरसाइकल तथा सवारीसाधन समेत पटक–पटक दुर्घटनामा पर्ने गरेका छन् ।
तर यति ठूलो समस्या हुँदाहुँदै पनि यहाँका जनप्रतिनिधिको ध्यान अझै पुग्न नसकेको स्थानीयहरूको आरोप छ । चुनावको समयमा मात्रै जनताको दुःख, समस्या र विकासका कुरा गर्ने तर चुनावपछि बेवास्ता गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् ।
जनताले पटक–पटक सडक मर्मत, ढल तथा पानी निकासको उचित व्यवस्था गर्न माग गरेपनि हालसम्म कुनै ठोस पहल नभएको गुनासो गरेका छन् । विकासको नाममा केवल आश्वासन बाँड्ने होइन, जनताको दैनिक जीवनसँग जोडिएका आधारभूत समस्या समाधानतर्फ सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।



