प्रदेश समाचारमधेशसमाचारस्थानिय

कलैयामा अखाद्य खाद्यवस्तु बेच्ने दुई मिठाई पसललाई ७० हजार जरिवाना, म्याद गुज्रिएका सामग्री नष्ट

बारा, २८ वैशाख
बाराको कलैयामा उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य व्यवसायमा लापरवाही गर्ने व्यवसायीमाथि संयुक्त बजार अनुगमन टोलीले कडा कारबाही अघि बढाएको छ। छड्के बजार अनुगमनका क्रममा गुणस्तरहीन तथा म्याद गुज्रिएका खाद्य सामग्री बिक्री गरेको आरोपमा दुई मिठाई पसललाई नगद जरिवाना गरिएको छ भने ठूलो परिमाणमा अखाद्य सामग्री स्थलमै नष्ट गरिएको छ।
संयुक्त बजार अनुगमन समितिको टोलीले आइतबार कलैया उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा सञ्चालनमा रहेका सात वटा पसल तथा होटलमा आकस्मिक अनुगमन गर्दा उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने अवस्थाका खाद्य सामग्री बिक्री भइरहेको भेटिएको हो। अनुगमनका क्रममा कतिपय व्यवसायीले कानुनअनुसार अनिवार्य राख्नुपर्ने मूल्य सूचीसमेत नराखेको, म्याद गुज्रिएका खाद्यवस्तु बिक्रीका लागि राखेको तथा सरसफाइ मापदण्डसमेत पालना नगरेको पाइएको टोलीले जनाएको छ।
अनुगमन टोलीका अनुसार कलैया उपमहानगरपालिका–६ बरियारपुर रोडस्थित माँ अन्नपूर्ण स्विट्स एन्ड बेकरी मा गुणस्तरहीन मोमो, हाइड्रो तथा बिरयानी बनाउने सामग्री फेला परेको थियो। पसलभित्र खाद्य सामग्री भण्डारणको अवस्था समेत अत्यन्त अस्वस्थकर रहेको तथा उपभोक्तालाई जानकारी दिने मूल्य सूची नराखिएको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ (घ) अनुसार ५० हजार रुपैयाँ जरिवाना गरिएको जनाइएको छ।
त्यसैगरी, कलैया–५ स्थित केसर स्विट्स मा म्याद गुज्रिएको आइसक्रिम तथा मोमो बिक्रीका लागि राखिएको भेटिएपछि २० हजार रुपैयाँ जरिवाना गरिएको छ। अनुगमन टोलीले सडेगलेका तथा म्याद नाघेका खाद्य सामग्री उपभोक्तालाई बिक्री गर्न खोजिएको भन्दै यस्तो कार्यले जनस्वास्थ्यमा गम्भीर असर पार्ने उल्लेख गरेको छ।
यस्तै, कलैया–४ बरियारपुर रोडस्थित रोशन बाबु जेनेरल स्टोर मा म्याद नाघेको खाने तेल फेला परेको थियो। उक्त तेल टोलीले पसल अगाडिनै नष्ट गरेको जनाएको छ। अनुगमन टोलीले म्याद गुज्रिएका खाद्य सामग्री बिक्री नगर्न तथा समयमै नष्ट गर्न व्यवसायीलाई सचेतसमेत गराएको छ।
अनुगमनका क्रममा कलैया–४ मा सञ्चालनमा रहेको एक मासु पसल तथा अदालत रोडस्थित सत्या होटल लाई आवश्यक कागजातसहित तीन दिनभित्र जिल्ला प्रशासन कार्यालय बारामा उपस्थित हुन निर्देशन दिइएको छ। त्यस्तै दुर्गा खाजा घर मा नापतौलसम्बन्धी अनुमति पत्र नभेटिएपछि तीन दिनभित्र वीरगञ्जस्थित नापतौल कार्यालयमा सम्पर्क गर्न भनिएको छ। नवल सेकुवा मा मूल्य सूची नराखिएको पाइएपछि चेतावनी दिइएको टोलीले जनाएको छ।
अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालय बारा, जिल्ला प्रशासन कार्यालय बारा, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज, खाद्य प्रविधि तथा गुणस्तर कार्यालय, उपभोक्ता अधिकारकर्मी, नेपाल प्रहरी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
अनुगमन टोलीले उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने, म्याद गुज्रिएका तथा गुणस्तरहीन खाद्यवस्तु बिक्री गर्ने व्यवसायीलाई आगामी दिनमा अझ कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ। साथै बजारमा सुरक्षित, स्वच्छ र गुणस्तरीय खाद्य सामग्री उपलब्ध गराउन नियमित अनुगमनलाई निरन्तरता दिइने जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button