प्रदेश समाचारमधेशसमाचारस्थानिय
करैयामाई गाउँपालिकाद्वारा सडक अतिक्रमण हटाउन ३० दिने अल्टिमेटम

बारा, २८ वैशाख
बाराको करैयामाई गाउँपालिकाले सडक मापदण्डभित्र निर्माण गरिएका घरटहरा तथा अन्य संरचना हटाउन सर्वसाधारणलाई ३० दिने अल्टिमेटम दिएको छ। गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै संघ, प्रदेश तथा स्थानीय तहबाट निर्माण तथा स्तरोन्नति गरिएका सडक क्षेत्र अतिक्रमण गरी बनाइएका संरचना तोकिएको समयभित्र हटाउन आग्रह गरेको हो।
गाउँपालिकाले जारी गरेको सूचनाअनुसार सडक क्षेत्रभित्र पर्ने घर, टहरा, गोठ, नाद, पराल राख्ने स्थान तथा पशु बाँध्ने संरचनाले सडकको सौन्दर्य मात्र नभई आवागमन र विकास निर्माण कार्यमा समेत बाधा पुर्याउँदै आएको भन्दै हटाउन निर्देशन दिइएको छ।
गाउँपालिकाका अनुसार गृह मन्त्रालयको निर्देशन, जिल्ला प्रशासन कार्यालय बाराबाट प्राप्त पत्राचार तथा गाउँ कार्यपालिका बैठकको निर्णयका आधारमा उक्त सूचना जारी गरिएको हो। यस सम्बन्धमा सम्बन्धित वडा कार्यालयमार्फत स्थानीयवासीलाई जानकारी गराउने कामसमेत भइरहेको जनाइएको छ।
गाउँपालिकाले तोकिएको ३० दिनभित्र स्वेच्छाले संरचना नहटाए प्रचलित कानुनअनुसार आवश्यक प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ। अटेर गरी सडक अतिक्रमण कायम राख्ने व्यक्तिमाथि कानुनी कारबाहीका साथै डोजर प्रयोग गरेर संरचना हटाउनेसम्मको प्रक्रिया अघि बढ्न सक्ने संकेत गाउँपालिकाले दिएको छ।
प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवद्वारा हस्ताक्षर गरिएको सूचनामा सार्वजनिक सडकलाई व्यवस्थित, सुरक्षित तथा फराकिलो बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको उल्लेख छ। गाउँपालिकाले सडक अतिक्रमण हटाउने अभियानलाई विकास र सुशासनसँग जोडिएको विषय भएको बताउँदै स्थानीयवासीलाई सहयोग गर्नसमेत आग्रह गरेको छ।
पछिल्लो समय जिल्लाका विभिन्न स्थानीय तहहरूले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण हटाउने अभियानलाई तीव्र बनाइरहेका बेला करैयामाई गाउँपालिकाले पनि सडक मापदण्ड कार्यान्वयनमा कडाइ थालेको हो। स्थानीय तहहरूले सडक क्षेत्र अतिक्रमण हटाउन थालेपछि कतिपय स्थानमा सर्वसाधारणमा चासो र चिन्तासमेत बढेको देखिएको छ।



