बारा–३ का सांसदसँग बजेट र विकासबारे जवाफ माग्दै जेन्जी युथ अफ बाराको प्रश्न

बारा, असार १२ — जेन्जी युथ अफ बाराका अध्यक्ष सौरभ पाण्डेले बारा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यसँग क्षेत्रीय विकास र बजेट विनियोजनबारे सार्वजनिक रूपमा प्रश्न उठाएका छन्।
उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको वक्तव्यमा सफल विद्यार्थीको पहिचान परीक्षा परिणामको समयमा हुने र सफल सांसदको पहिचान बजेटको समयमा हुने उल्लेख गर्दै बारा–३ ले अपेक्षाअनुसार विकास बजेट प्राप्त गर्न नसकेको विषयमा चासो व्यक्त गरेका छन्।
पाण्डेले निर्वाचनको समयमा सांसदले अघिल्ला जनप्रतिनिधिहरूले पर्याप्त बजेट ल्याउन नसकेको र आफूले क्षेत्रको विकासका लागि आवश्यक बजेट सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको स्मरण गराएका छन्। बारा जिल्लामै सबैभन्दा बढी मतान्तरले निर्वाचित सांसदप्रति जनताको अपेक्षा र भरोसा उच्च रहेको उल्लेख गर्दै उनले हालसम्म बजेटबाट हुने वा बजेटबाहिरबाट हुने उल्लेखनीय विकासका कामहरू खासै नदेखिएको बताएका छन्।
उनले प्रश्न गर्दै भनेका छन्, “हाम्रो क्षेत्रले अपेक्षाअनुसार बजेट किन पाएन? हाम्रो क्षेत्रको विकास अब कसरी हुन्छ? जनतासँग गरिएको प्रतिबद्धता कहिले पूरा हुन्छ?”
पाण्डेले आफ्नो प्रश्न आलोचनाका लागि नभई जनप्रतिनिधिको जवाफदेहिता सुनिश्चित गर्न तथा क्षेत्रको विकासप्रतिको चासोका लागि उठाइएको स्पष्ट पारेका छन्।
उनका अनुसार बारा–३ का नागरिकले विकासका लागि विभिन्न योजनाहरूको बजेट माग गरे पनि चालु आर्थिक वर्षको बजेटमा अपेक्षाकृत कम रकम विनियोजन भएको देखिएको छ। यस विषयमा सांसदले जनतालाई स्पष्ट जानकारी दिनुपर्ने उनको माग रहेको छ।



