राष्ट्रिय स्वतन्त्र पार्टी रौतहटमा नेतृत्वका लागि तीव्र प्रतिस्पर्धा, सर्वसम्मतिको प्रयास जारी

राजकुमार यादव , रौतहट
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो पटक अधिवेशनमार्फत जिल्ला नेतृत्व चयन गर्न लागेका बेला रौतहटमा नेतृत्वका आकांक्षी नेताहरूबीच प्रतिस्पर्धा तीव्र बनेको छ।
रास्वपाको प्रथम रौतहट जिल्ला अधिवेशन शनिबार जिल्लाको मध्य भेग गरुडामा सुरु भएको छ। जिल्ला नेतृत्व सर्वसम्मतिबाट चयन गर्ने प्रयास जारी रहे पनि सहमति जुट्न नसके निर्वाचन प्रक्रियामार्फत नयाँ नेतृत्व टुंग्याइने तयारी गरिएको छ।
जिल्ला सभापति प्रदिप साह का अनुसार आइतबार बिहान ८ बजेसम्म सर्वसम्मतिबाट नेतृत्व चयन गर्ने प्रयास गरिनेछ। निर्धारित समयसम्म सहमति हुन नसके आइतबार बिहान ९ बजे उम्मेदवारी दर्ता प्रक्रिया सुरु गरिने र त्यसपछि निर्वाचनमार्फत नेतृत्व चयन गरिनेछ।
जिल्ला सभापति पदका लागि क्षेत्र नं. १ का सांसद मा. राजेश चौधरी, वर्तमान सभापति प्रदिप साह तथा युवा नेता रविन्द्र यादव आकांक्षी देखिएका छन्। यद्यपि पार्टीभित्र वर्तमान सभापति साहलाई पुनः सर्वसम्मत नेतृत्व प्रदान गर्ने विषयमा समेत आन्तरिक छलफल चलिरहेको स्रोतले जनाएको छ।
अधिवेशनको पूर्वसन्ध्यामा पार्टीभित्र संस्थापक समूह र पछिल्लो समय अन्य दलबाट प्रवेश गरेका नेताहरूबीच मतभेद रहेको चर्चा पनि चुलिएको छ। संस्थापक पक्षले पार्टी निर्माण र संगठन विस्तारमा आफ्नो भूमिका महत्वपूर्ण रहेको दाबी गर्दै आएको छ भने पछिल्लो समय पार्टी प्रवेश गरेका नेताहरूले आफूहरूमाथि विभेदपूर्ण व्यवहार भएको गुनासो गर्दै आएका छन्।
यही पृष्ठभूमिमा नेतृत्व चयन प्रक्रिया रौतहटमा मात्र नभई समग्र पार्टी वृत्तमा समेत चासोका साथ हेरिएको छ। जिल्ला अधिवेशनबाट चयन हुने नेतृत्वले आगामी दिनमा संगठनको एकता, विस्तार तथा पार्टीको आन्तरिक व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवन मा आयोजना हुँदैछ। महाधिवेशनअघि वडा, पालिका, जिल्ला तथा प्रदेश तहका अधिवेशन सम्पन्न गर्न पार्टी केन्द्रीय नेतृत्वले निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार रौतहटसहित देशभर संगठनात्मक अधिवेशनहरू सम्पन्न भइरहेका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार रौतहट अधिवेशनको परिणामले जिल्लामा रास्वपाको आगामी संगठनात्मक दिशा तथा शक्ति सन्तुलन निर्धारण गर्ने भएकाले नेतृत्व चयन प्रक्रियालाई विशेष महत्वका साथ हेरिएको छ।



