अन्तर्राष्ट्रियअर्थतन्त्रकर्णालीकृषिकोशीखेलकुदगण्डकीप्रदेश समाचारबागमतीमधेशराजनीतिराष्ट्रियलुम्बिनीविचारशिक्षासमाचारसुदूरपश्चिमसूचना प्रविधिस्थानियस्वास्थ्य
बाराबाट हुने तस्करीमा भारतीय प्रहरीको पर्दाफास

बारा, ०३ वैशाख
भारत–नेपाल सीमासँग जोडिएको बारा जिल्लाको सीमाक्षेत्रमा भारतीय सुरक्षा निकायको सक्रियताले पछिल्लो समय तस्करीविरुद्ध उल्लेखनीय सफलता हासिल गरेको छ। सशस्त्र सीमा बल (SSB) र भारतीय प्रहरीको संयुक्त अपरेशनमार्फत लागूऔषध, पशु तथा मल तस्करीका घटनाहरू पर्दाफास भएका हुन्।
एसएसबीको ७१औँ बटालियनबाट प्राप्त गोप्य सूचनाका आधारमा बिहार प्रहरीसँग मिलेर गरिएको कारबाहीमा ४ किलोग्राम अफिमसहित दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा पर्सा जिल्ला निवासी ५७ वर्षीय चन्देश्वर महतो कोइरी र पश्चिम चम्पारण का ६६ वर्षीय झग्गु महतो रहेका छन्।
एसएसबी मुख्यालय पिपराकोठीका सहायक कमाण्डेन्ट विश्वजित तिवारीका अनुसार उनीहरूको शरीर तलासीका क्रममा ४ वटा प्याकेटमा लुकाइ राखिएको अवस्थामा अफिम बरामद गरिएको हो। उनीहरूबाट ३ थान मोबाइल फोनसमेत फेला परेको छ। प्रारम्भिक अनुसन्धानमा उक्त अफिम मोतीहारी बाट दिल्ली पुर्याउने योजना रहेको खुलेको छ।
पक्राउ परेका दुवैजनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि पिपराकोठी प्रहरी चौकीमा बुझाइएको जनाइएको छ।
यसैबीच, अर्को अपरेशनमा एसएसबी टोलीले बिहीबार बिहान करिब २ बजे सीमाक्षेत्रबाट १५ वटा गाई–बाछा नियन्त्रणमा लिएको छ। बारा जिल्लासँग जोडिएको इनरवा (लरहटोला) क्षेत्रबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेका ५ वटा गाई र १० वटा बाछा बरामद गरिएको हो। एसएसबी प्रवक्ता बिनित कुमार सिंहका अनुसार बरामद पशुहरूलाई आवश्यक प्रक्रिया पूरा गरी आदापुर प्रहरी कार्यालयमा बुझाइएको छ।
त्यसैगरी, सोही दिन बिहान करिब ६:१५ बजे इन्टेलिजेन्स सूचनाका आधारमा एसएसबी ७१औँ बटालियन अन्तर्गत बिओपी बरहरवा टोलीले विशेष गस्ती सञ्चालन गर्दा ठूलो परिमाणमा युरिया मल बरामद गरेको छ। सीमा स्तम्भ नम्बर ३६०/०५ नजिक रेगनिया गाउँ आसपासबाट नेपालतर्फ तस्करी गरिँदै गरेको अवस्थामा ४५–४५ केजीका २८ बोरा युरिया मल फेला परेको हो।
घटनास्थलबाट कोही पनि पक्राउ पर्न नसकेको र तस्करहरू सामान छोडेर फरार भएको अनुमान गरिएको छ। बरामद मल आवश्यक प्रक्रिया पूरा गरी मोतीहारी भन्सार कार्यालयमा बुझाइएको छ।
सीमाक्षेत्रमा पछिल्लो समय लागूऔषध, पशु तथा मल तस्करीका घटनाहरू बढ्दै गएपछि भारतीय सुरक्षा निकायले निगरानी अझ कडा बनाएको जनाएको छ। निरन्तर सञ्चालन गरिएका यस्ता अपरेशनले अवैध गतिविधिमा संलग्न समूहहरूलाई चुनौती थपिएको सुरक्षा अधिकारीहरूको भनाइ छ।
यस घटनाक्रमले बारा जिल्लाबाट हुने सीमापार तस्करीलाई भारतीय पक्षले प्रभावकारी रूपमा नियन्त्रण तथा पर्दाफास गरिरहेको देखाएको छ, जसले सीमा सुरक्षामा नयाँ सन्देश दिएको छ।