प्रदेश समाचारमधेशसमाचारस्थानिय

जितपुरमा प्रहरी नेतृत्वमाथि अवैध असुलीको आरोप, व्यापारीले मागे निष्पक्ष छानबिन

बारा जिल्लाको जितपुर क्षेत्रमा कार्यरत इलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक (सई) उमेश उप्रेतीमाथि स्थानीय व्यापारी तथा व्यवसायीहरूलाई त्रासमा पार्दै अवैध रूपमा रकम असुली गरेको गम्भीर आरोप सार्वजनिक भएको छ। स्थानीय व्यवसायीहरूले प्रहरी सहायक हवल्दार नवराज लम्साललाई घुमुवा परिचालन गरी विभिन्न व्यापारिक क्षेत्रका व्यक्तिहरूसँग नियमित रूपमा रकम संकलन गराउने गरिएको दाबी गरेका छन्।
व्यापारीहरूका अनुसार वीरगंज–जितपुर औद्योगिक तथा व्यापारिक करिडोरमा सक्रिय ट्रान्सपोर्ट व्यवसायी, कपडा व्यापारी, चिनी, चकलेट तथा बटर कारोबारी, गोदाम सञ्चालक र अन्य व्यवसायीहरूलाई विभिन्न बहानामा दबाब दिएर मासिक रकम असुली हुने गरेको आरोप छ। उनीहरूको भनाइमा रकम नदिए ढुवानीमा अवरोध सिर्जना गर्ने, कागजात परीक्षणका नाममा दुःख दिने, सवारी साधन नियन्त्रणमा लिने तथा प्रशासनिक झन्झट बढाउने जस्ता गतिविधि हुने गरेका छन्।
नाम नखुलाउने सर्तमा एक व्यवसायीले व्यापार सञ्चालन गर्नभन्दा प्रहरीको दबाब व्यवस्थापन गर्न कठिन भइरहेको गुनासो गरे। उनले मासिक रूपमा रकम नबुझाए मालसामान ढुवानीमा समस्या आउने, अनावश्यक चेकजाँचको सामना गर्नुपर्ने र व्यवसाय नै प्रभावित हुने अवस्था रहेको बताए। प्रतिशोधको डरका कारण धेरै व्यवसायी खुलेर बोल्न नसकेको उनले उल्लेख गरे।
स्थानीय व्यापारीहरूका अनुसार वीरगंजको ट्रान्सपोर्ट क्षेत्रदेखि लालका पुलसम्मका विभिन्न व्यापारिक गतिविधिसँग सम्बन्धित व्यवसायीहरूलाई लक्षित गरी रकम असुली हुने गरेको चर्चा लामो समयदेखि चल्दै आएको छ। पछिल्लो समय यस विषयले बारा–पर्सा क्षेत्रका उद्योगी, व्यवसायी तथा ट्रान्सपोर्ट व्यवसायीबीच व्यापक चासो र चिन्ता उत्पन्न गरेको छ।
व्यवसायीहरूले प्रहरीको भूमिका सुरक्षा र कानुन कार्यान्वयनमा केन्द्रित हुनुपर्नेमा आर्थिक दबाब सिर्जना गर्ने गतिविधि बढेको आरोप लगाएका छन्। उनीहरूका अनुसार यसले व्यापारिक वातावरणमा नकारात्मक असर पार्नुका साथै लगानीकर्ताहरूमा असुरक्षाको भावना समेत बढाएको छ।
स्थानीय स्रोतहरूका अनुसार भारतसँग जोडिएका पर्सा र बारा जिल्लाका विभिन्न नाकाहरू हुँदै दैनिक रूपमा ठूलो परिमाणमा सामान नेपाल भित्रिने गर्छ। छपकैया, अलौ, अमरपाटी, प्रसौनी भाठा, सबैथवा, भिस्वा र जनकिटोला क्षेत्रबाट भित्रिने सामग्रीहरू जितपुर हुँदै देशका विभिन्न जिल्लामा ढुवानी हुने गरेको छ। व्यवसायीहरूको आरोप अनुसार यस्ता गतिविधिमाथि निगरानी र नियन्त्रण गर्नुपर्ने निकायभित्रकै केही व्यक्तिहरूले आर्थिक लाभको आधारमा मौन समर्थन गरिरहेको अवस्था रहेको छ।
यता वीरगंज र कलैयाबाट सञ्चालन हुने रात्री बस तथा ट्रान्सपोर्ट सेवाबाट समेत नियमित रूपमा रकम असुली हुने गरेको आरोप व्यवसायीहरूले लगाएका छन्। उनीहरूका अनुसार केही ट्रान्सपोर्ट कम्पनी तथा सवारी साधनबाट मासिक १० हजारदेखि २० हजार रुपैयाँसम्म रकम उठाइने गरेको चर्चा व्यवसायिक वृत्तमा रहेको छ। नियमअनुसार कर तथा राजस्व तिरे पनि अतिरिक्त अनौपचारिक रकम दिनुपर्ने बाध्यता सिर्जना भएको व्यवसायीहरूको भनाइ छ।
यस घटनामा प्रहरी सहायक हवल्दार नवराज लम्सालको नाम समेत जोडिएको छ। स्थानीय स्रोतहरूले उनी व्यवसायीहरूसँग प्रत्यक्ष सम्पर्कमा रही आर्थिक कारोबार मिलाउने भूमिकामा रहेको आरोप लगाएका छन्। केही स्थानीयले उनी विगतमा अन्य क्षेत्रमा कार्यरत रहँदा पनि यस्तै प्रकृतिका आरोपहरू उठेको दाबी गरेका छन्। यद्यपि ती आरोपहरू आधिकारिक रूपमा पुष्टि भएका छैनन्।
घटनाप्रति सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराउँदै स्थानीय व्यवसायीहरूले निष्पक्ष र स्वतन्त्र छानबिनको माग गरेका छन्। उनीहरूले प्रहरी संगठनको छवि जोगाउन र दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउन उच्चस्तरीय अनुसन्धान आवश्यक रहेको बताएका छन्। साभार: शुभ आरम्भ दैनिक

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button