कलैया : बाराको मटिअर्वा छोटी भन्सार नाकामा प्रहरीकै संरक्षणमा तस्करी हुने गरेको खुलसा भएको छ ।
सिमा सुरक्षा र तस्करी नियन्त्रण गर्न खटिने सशस्त्र प्रहरीहरुकै संलग्नतामा बोर्डरमा तस्करी हुनेगरेको तथ्य सार्वजनिक भएको छ ।
छोटी भन्सारहरुबाट नै तस्करी हुने गरेको सूचना पाईएपछि साझेदारी राष्ट्रिय दैनिक लगायतको टिम नाकामा पुग्दा सशस्त्र प्रहरीहरुकै मिलेमतोमा तस्करी भईरहेको पाईयो।
विहीबार पत्रकारको टोली नाकामा पुग्दा सशस्त्रका जवानहरुले तस्करीमा सामान ल्याउनेहरुसंग रकम लिएर सामान पास गर्ने गरेको पाईएपछि भिडियो नै लिएर सार्वजनिक भएको छ ।
पत्रकार टोलीले कैद गरेको भिडियोले नै तस्करी नियन्त्रणको जिम्मेवारी पाएको सशस्त्र प्रहरीले आफै पैसा लिएर तस्करी गराउने पुष्टि भएको छ ।
सशस्त्र प्रहरी बल बिओपी मटिअर्वाका प्रहरी नायब उपरीक्षक योगराज दहालको निर्देशनमा सेटिङ मिलाएर मटिअर्वा नाकामा व्यापक तस्करी भइरहेको स्थानीयहरुले गुनासो गरेका छन ।
नायब उपरीक्षक दहालको मिलोमतोमा नाकामा दैनिक दिन रात साईकल तथा मोटरसाईकलमा भन्सार छलेर व्यापक सामान ओसारपसार भईरहेको पाइएको हो ।
बिहीवार मटिअर्वा चौकमा स्थानीय सहमत मिया दर्जीले भिडियो कलमा कुरा गरेकै भरमा सशस्त्र प्रहरीले उनलाई निर्घात कुटपिट गरेर उनको मोवाईल नै नियन्त्रणमा लिएका थिए ।
सशस्त्र प्रहरीले मलाईलाई बाटोमै एक थपड जोडले गालामा पिट्योे,बाटोमै खसालेको र मोबाइल नियन्त्रणमा लिएको दर्जी साझेदारी दैनिकलाई बताए ।
उक्त चौकमा सशस्त्र प्रहरीले बस्ने ठाँउमा एउटा कार्टुन राखेको र त्यो कार्टुनमा दैनिक साइकल र मोटरसाइकलमा तस्करी गर्ने ब्यक्तिहरु संग १० देखि एक हजार रुपैयाँ समेत लिने गरेको स्थनीयहरुले बताए ।
उक्त कार्टुन चेक गर्ने क्रममा पैसा समेत फेला परेको छ । सो कार्टुनमा भएको पैसा सहायक हेड कन्स्टेबल धर्मराज अधिकारीले लिएर भागेका थिए।
सशस्त्र प्रहरीले तस्करीहरुसंग महिनवारी तथा नजराना समेत लिने गरेको एक जनाले बताए ।
यता यस विषयमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराका प्रहरी उपरीक्षक खुम बहादुर के.सी संग बुझ्दा भिडियो मैले पाइसकेको छु,स्थलगतमा रुपमा घटनाको जाँचबुझ गरेर सत्यतथ्य छानबिन गरि दोषी जो कोहीलाई पनि कारवाही गर्ने साझेदारी समक्ष प्रतिबद्धता दिएका छन ।




