कलैया, फागुन २१ : बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय किसनपुरमा रहेको मतदानस्थलमा खटिएका निर्वाचन अधिकृत श्याम प्रसाद साह अचानक बेहोस भएपछि उपचारका लागि अस्पताल पठाइएको छ।
जिल्ला निर्वाचन कार्यालय बाराका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत मतदान कार्य चलिरहेका बेला बिहान करिब ११ बजे साहलाई अचानक स्वास्थ्य समस्या देखिएपछि उनी बेहोस भएका हुन्। घटनापछि त्यहाँ खटिएका कर्मचारी तथा सुरक्षाकर्मीले तत्काल उद्धार गरी उपचारका लागि बाराकै सिम्रौनगढस्थित स्थानीय अस्पतालमा पठाएका छन्।
निर्वाचन कार्यालयका अनुसार उक्त घटनापछि पनि सो मतदानस्थलमा अन्य कर्मचारीको समन्वयमा मतदान कार्य नियमित रूपमा सञ्चालन भइरहेको छ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का स्थानीय पर्यवेक्षकका अनुसार मतदानस्थलमा मतदातालाई सहज वातावरणमा मतदान गर्न दिइएको छ। निर्वाचन अधिकृतको स्वास्थ्य समस्या देखिएपछि तत्काल उपचारका लागि अस्पताल पठाइएको घटनाले मानवीय संवेदनशीलता देखिएको पनि उल्लेख गरिएको छ।
0 11 1 minute read




