रिलायन्स सुगर मिल, श्रीपुर बाराले किसानलाई उखु खेती गर्न प्रोत्साहन गरे पनि उखु कटान र मिलसम्म चलान गर्न नदिँदा किसान गम्भीर समस्यामा परेको गुनासो सार्वजनिक भएको छ।
कलैया उपमहानगरपालिका वडा नम्बर १८ का स्थानीय किसान सचितानन्द यादव ले मिलको गैरजिम्मेवार व्यवहारका कारण आफूजस्ता सयौँ किसान मर्कामा परेको बताए। उनका अनुसार मिलले सुरुमा उखु लगाउन आग्रह गर्ने, आश्वासन दिने तर उत्पादन तयार भएपछि कटान अनुमति र चलान रोक्दा खेतमै उखु सुक्ने अवस्थामा पुगेको छ।
यस्तै गुनासो कलैया उपमहानगरपालिका वडा नम्बर १४ का किसान राजेश यादव ले पनि व्यक्त गरेका छन्। उनले उखु खेतीमा बीउ, मल, सिँचाइ र मजदुरीमा ठूलो लगानी गरे पनि मिलको ढिलासुस्ती र बेवास्ताका कारण आर्थिक रूपमा गम्भीर क्षति व्यहोर्नु परेको बताए। “मिलले समयमै उखु नलिँदा तौल घट्दै गएको छ, किसानको पसिना र लगानी दुवै डुब्ने जोखिममा छन्,” उनले आक्रोश व्यक्त गरे।
किसानहरूका अनुसार मिल व्यवस्थापनको अस्पष्ट नीति, सूचना अभाव र एकतर्फी निर्णयले समस्या झनै चर्किएको छ। उखु कटान ढिलो हुँदा खेत खाली गर्न नसकिएको, अर्को बाली लगाउन समस्या भएको र बैंक तथा साहुकारको ऋण तिर्न नसक्ने अवस्था सिर्जना भएको उनीहरूको भनाइ छ।
स्थानीय किसानहरूले मिल प्रशासन र सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गराउँदै तत्काल उखु कटान तथा चलानको व्यवस्था मिलाउन माग गरेका छन्। उनीहरूले समयमै समस्या समाधान नभए सामूहिक आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिएका छन्।
किसानको उत्पादनलाई प्राथमिकता दिनुपर्ने बेला मिलको यस्तो दोहोरो चरित्रले कृषि पेशाप्रति नै निराशा बढाएको भन्दै स्थानीय स्तरमा चर्को असन्तोष देखिन थालेको छ।





Monetize your influence—become an affiliate today!