Banner Newsमधेसराजनीतिसमाचार

युवा र विकासमुखी एजेन्डासहित अरविन्द साहले सिसहनिया–ढोरियामा घरदैलो कार्यक्रम सञ्चालन

बारा निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार ई. अरविन्द साहले कलैया उपमहानगरपालिका वडा नं. २५ अन्तर्गत सिसहनिया र ढोरिया टोलमा घरदैलो कार्यक्रम सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्।
घरदैलोका क्रममा उम्मेदवार साहले आफ्नो प्रमुख एजेन्डा स्थानीय विकास, युवा रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवा सुधार रहेको बताए। उनले विशेष गरी युवापुस्तालाई वैदेशिक रोजगारीमा निर्भर हुन नपर्ने अवसर सिर्जना, सीपमूलक तालिम र उद्यमशीलता प्रवर्द्धनमा जोड दिने प्रतिबद्धता व्यक्त गरे।
साहले यसअघि विभिन्न स्थानमा जेनजी युवासँग गरिएको छलफललाई उद्धृत गर्दै भने, “हामी युवाको आवाज नीति निर्माण तहसम्म पुर्‍याउने छौँ। विकास र रोजगारका अवसर सृजना गर्नु हाम्रो प्राथमिकता हो। मतदातासँग प्रत्यक्ष सम्पर्क हाम्रो अभियानको मुख्य आधार हो।”
कार्यक्रममा स्थानीय बासिन्दाले सडक, खानेपानी, कृषि, स्वास्थ्य सेवा र युवा अवसरसम्बन्धी समस्याहरू राखेका थिए। उम्मेदवार साहले हरेक समस्याको समाधानका लागि योजना तयार रहेको जानकारी दिएका थिए। उनले मतदातालाई घण्टी छापमा मतदान गर्न आग्रह गर्दै घरघर पुगेर आफ्नो योजना बुझाए।
साहको टोलीका अनुसार, आगामी दिनहरूमा पनि घरदैलो, अन्तरक्रिया र छलफल कार्यक्रम निरन्तर सञ्चालन हुने योजना छ। यस अभियानमार्फत उनी मतदातासँग प्रत्यक्ष संवाद बढाउँदै युवापुस्ता र स्थानीय जनताको सक्रिय सहभागिता सुनिश्चित गर्ने लक्ष्यमा छन्।
स्थानीय विश्लेषकहरूका अनुसार, अरविन्द साहको युवा नेतृत्व, स्वच्छ छवि र विकासमुखी एजेन्डाले आगामी निर्वाचनमा मतदातामा सकारात्मक प्रभाव पार्ने सम्भावना छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button