Fashionअन्तराष्ट्रियसमाज

अजरबैजानबाट कोकिन बोकेर नेपाल आएका भारतीय नागरिक त्रिभुवन विमानस्थलमा पक्राउ

काठमाडौं : ४९ वर्षीय भारतीय नागरिक अब्दुस समाद जामिल मन्सुरी महाराष्ट्र मुम्बईका बासिन्दा हुन् । देखिने गरी उनको काम खासै केही छैन । २/४ पैसा आउने काम कसैले दियो भने उनी सजिलै गरिदिन्छन् । उनलाई कसैले अजरबैजान जान र एउटा झोला लिएर फर्कनका लागि प्रलोभन देखायो । केही पैसा पाइने लोभमा उनी अजरबैजान पुगे र उनीहरूले भनेझै सुटकेस लिएर नेपाल आए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा ओर्लनसाथ उनी पक्राउ परेका छन् । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख कृष्ण कोइरालाका अनुसार विमानस्थलमा ओर्लनसाथ शंकास्पद गतिविधि देखाएका उनी प्रहरीको सुरक्षा चेकजाँचका क्रममा पक्राउ परेका हुन् । उनको साथबाट ३ किलो ४०० ग्राम कोकिन फेला परेको छ ।

असार २५ मा उनी कतार एयरवेजको उडानमार्फत काठमाडौं आएका थिए । प्रहरीका अनुसार प्रारम्भिक बयानका क्रममा उनले आफूले बोकेको झोलामा अवैध लागुऔषध भएको विषयमा अनविज्ञता व्यक्त गरेका छन् । अजरबैजानमा भेटिएका एक व्यक्तिले झोला भारतसम्म पुर्‍याउन लगाएको उनले बताए । करिब साढे ३ तीन किलो कोकिनलाई पिठोजस्तै गरी प्लास्टिकको झोलामा उनले लुकाएर ल्याएका थिए । उनी काठमाडौंबाट बसबाट मुम्बई जाने योजनामा थिए । 

उनले बोकेर ल्याएको कोकिन भारतीय बजारमा बिक्री गर्ने योजनाका साथ नेपालको बाटो हुँदै ल्याइएको प्रहरीको अनुमान छ । उनीविरुद्ध लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार अनुसन्धान भइरहेको एसएसपी कोइरालाले जानकारी दिए । गत शनिबार पनि साढे ६ किलो सेतो हिरोइनसहित भारतीय नागरिक पक्राउ परेका थिए । थाइल्यान्डको बैंककबाट नेपाल आएका भारतीय नागरिक अवैध लागुऔषधसहित पक्राउ परेका थिए ।

शनिबार राति ११ बजे थाई एयरवेयजको फ्लाइटबाट काठमाडौ ओर्लिएका भारतीय नागरिक ६५ वर्षीय राकेश ओहावलाई त्रिभुवन विमानस्थल सुरक्षार्थ खटिएको टोलीले पक्राउ गरेको हो । उनले ल्याएको लगेजमा ६.५ किलो सेतो हिरोइन लुकाइछिपाइ राखिएको थियो । पछिल्लो समय अवैध लागुऔषध तस्करीमा भारतीय नागरिकको संलग्नता बढ्न थालेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button