राजस्थानको झालावाड जिल्लामा शुक्रबार भएको एक दर्दनाक घटनामा सरकारी विद्यालयको छत भत्किँदा तीन विद्यार्थीको ज्यान गएको छ भने कम्तीमा ३० जना घाइते भएका छन्। घटनापछि शिक्षा विभागले प्रारम्भिक लापरबाही देखाउँदै पाँच शिक्षकलाई निलम्बन गरेको छ।
मनोहर प्रहरी चौकी नजिक रहेको उक्त विद्यालयको भवन शुक्रबार अपराह्न अचानक भत्किएको थियो। घटनापछि स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरूले भग्नावशेष हटाई घाइते विद्यार्थी तथा शिक्षकहरूलाई उद्दार गरेका थिए। घाइते सबैलाई उपचारका लागि नजिकको अस्पतालमा भर्ना गरिएको छ।
राजस्थानका शिक्षामन्त्री मदन दिलावरले घटनामा तीन बालबालिकाको मृत्यु भएको पुष्टि गरेका छन्। जिल्ला शिक्षा अधिकारी नरसिंह मीनाले शिक्षकहरूको लापरबाही रहेको भन्दै पाँच जनालाई तत्काल निलम्बन गर्ने निर्णय गरेका हुन्।
हाल घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ। विद्यालयको संरचनागत कमजोरीका कारण यो दुर्घटना भएको आशंका गरिएको छ। शिक्षा विभागले दोषीहरूलाई थप कारबाही गर्ने जनाएको छ।




