Banner Newsकृषिसमाचार

कीर्तिपुरमा सुरु भयो कृषि आधुनिकीकरण कार्यक्रमको वार्षिक समीक्षा गोष्ठी

काठमाडौँ, १९ साउन :राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा गोष्ठी आजदेखि कीर्तिपुरस्थित समशितोष्ण बागवानी केन्द्रको सभाहलमा सुरु भएको छ। तीन दिनसम्म चल्ने उक्त गोष्ठीको उद्घाटन कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले गरे।

गोष्ठीको उद्घाटन सत्रमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. दीपक कुमार खराल, सहसचिवहरू, विभागीय महानिर्देशकहरू, प्रदेशस्तरीय कार्यक्रम कार्यान्वयन इकाइ (का.का.ए.) का प्रमुखहरू तथा सम्बन्धित आयोजनाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम निर्देशक हिक्मत कुमार श्रेष्ठले प्रारम्भिक सत्रमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत २०८१/८२ को चौथो त्रैमासिक तथा वार्षिक अवधिमा सम्पादन गरिएका गतिविधि र उपलब्धिहरूको समग्र प्रगति प्रस्तुत गरे।

गोष्ठीको क्रममा बागमती प्रदेशमा कार्यान्वयन भएका कार्यक्रमबारे वरिष्ठ कृषि अर्थशास्त्री महेश रेग्मी, गण्डकी प्रदेशको सन्दर्भमा माधवप्रसाद लम्सालले जानकारी दिए। साथै, कालीमाटी फलफूल तथा तरकारी बजार सञ्चालनसम्बन्धी अनुभव पनि प्रस्तुत गरिएको थियो।

प्रस्तुतिहरूमा कृषि उत्पादनमा भएको प्रगति, व्यावसायिकिकरणका अभ्यासहरू, पूर्वाधार विकासको अवस्था, बजेट कार्यान्वयनमा देखा परेका चुनौती र अवसर, प्रदेशस्तरीय समन्वय, तथा कृषि ऋण सहजीकरणमा सहकार्यका सम्भावनाहरूमा विशेष चर्चा गरिएको छ। कृषक लक्षित तालिम, प्रविधि विस्तार, बीउ उत्पादन तथा गुणस्तर अनुगमनसम्बन्धी विषयहरूमा पनि सहभागीबीच व्यापक छलफल भएको छ।

पहिलो दिनको अन्तिम सत्रमा विभिन्न प्रदेशका प्रतिनिधिहरूले आफ्ना कार्यानुभव र समस्याहरू प्रस्तुत गरे। गोष्ठी भोलि सुदूरपश्चिम, कर्णाली, मधेस, लुम्बिनी र कोशी प्रदेशका कार्यक्रमहरूको प्रगति प्रस्तुति तथा सामूहिक छलफलसँगै जारी रहनेछ।

तेस्रो दिन कार्यक्रमको दोस्रो चरण सञ्चालनसम्बन्धी रणनीति तय गरिने र प्रदेशस्तरीय सुझावहरूको संकलन गरिने आयोजकले जनाएको छ। गोष्ठीबाट प्राप्त हुने निष्कर्ष र सिफारिसहरू आगामी आर्थिक वर्षको रणनीतिक योजना निर्माणमा मार्गदर्शक हुने अपेक्षा गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button