वीरगन्ज, पर्सा :नेपालीहरूको महान चाड बडा दशैँको सातौँ दिन फूलपाती पर्व आज देशभर परम्परागत हर्षोल्लासका साथ मनाइँदै छ। आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापनासँगै सुरु भएको नवदुर्गा भवानीको पूजाआजाको क्रमअन्तर्गत सप्तमीका दिन वीरगन्जको ऐतिहासिक गहवामाई मन्दिरमा विशेष विधिपूर्वक फूलपाती भित्र्याइएको हो।
वीरगन्जमा फूलपाती भित्र्याउने पुरानो परम्परा यस वर्ष पनि जीवित राखिएको छ। छपकैयास्थित मालपोत कार्यालयको दशैँघरबाट नेपाली सेनाको टुकडीले शुभ साइतको प्रतीक मानिने फूलपातीलाई ब्यान्ड बाजा र सलामीसहित गहवामाई मन्दिरसम्म ल्याएको थियो। सेनाको उपस्थितिले सम्पूर्ण शहरलाई भक्तिमय वातावरणमा रंग्याएको थियो।
वैदिक विधिअनुसार शक्तिको प्रतीकका रूपमा नौ देवीको स्वरूपमा नवपत्रिकाको पूजा आजका दिन गरिन्छ। घर–घर र मन्दिरमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूललगायत नौ प्रकारका नयाँ पालुवा तथा सामग्रीहरू भित्र्याइएका छन्।
फूलपाती भित्र्याउने यस विशेष समारोहमा वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकलगायत विभिन्न क्षेत्रका उच्च पदस्थ व्यक्तित्वहरू, स्थानीय समाजसेवी, संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
शताब्दीयौँ पुरानो यो परम्पराले नेपाली समाजमा एकता, श्रद्धा र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको मानिन्छ।
