Banner Newsमधेसराजनीतिसमाचार

ग्रामीण विकास र प्रविधिलाई प्राथमिकता दिँदै इन्जिनियर अरविन्द साहको राजनीतिक यात्रा

बारा,

ग्रामीण विकास र सूचना प्रविधिलाई मूल एजेन्डा बनाउँदै बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा इन्जिनियर अरविन्द साह निर्वाचन मैदानमा उत्रिएका छन् । स्टार्टअपदेखि संसदसम्मको यात्रामा रहेका साहलाई जेन–जीदेखि वृद्ध पुस्तासम्मको समर्थन प्राप्त हुँदै गएको देखिन्छ ।

शिक्षा, सूचना प्रविधि, उद्यमशीलता तथा सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका साह बहुआयामिक पृष्ठभूमिका व्यक्ति हुन् । उनको जन्म वि.सं. २०४१ वैशाख ५ गते बारा जिल्लाको महागढीमाई नगरपालिका–७, तेलकुवामा भएको हो । उनका बुवा श्याम किशोर प्रसाद साह र आमा अनिता देवी साह प्राथमिक तहका शिक्षक थिए । मध्यमवर्गीय परिवारमा हुर्किएका साहको बाल्यकाल ग्रामीण परिवेशमै बितेको हो ।

सीमित साधनस्रोतका बाबजुद शिक्षाप्रति परिवारले गरेको विश्वासका कारण साह परिवारका तीनै सन्तान उच्च शिक्षासम्म पुग्न सफल भएका छन् । उनका जेठा दाजु पुल्चोक क्याम्पसबाट सिभिल इन्जिनियर, अरविन्द साह कम्प्युटर इन्जिनियर तथा कान्छा भाइ एमडी डाक्टर हुन् ।

रुखमुनिबाट पुल्चोकसम्मको यात्रा

साहको शैक्षिक यात्रा सहज थिएन । गाउँको प्राथमिक विद्यालयमा पूर्वाधारको अभावका कारण रुखमुनि प्लास्टिकको बोरा ओछ्याएर पढाइ सुरु गरेका उनले माध्यमिक शिक्षा बारा सदरमुकाम कलैयाबाट पूरा गरे । त्यसपछि वीरगन्ज हुँदै काठमाडौं पुगेका साहले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा छात्रवृत्तिमार्फत कम्प्युटर इन्जिनियरिङमा स्नातक अध्ययन पूरा गरेका हुन् ।

त्यसपछि उनले ग्रामीण विकास विषयमा स्नातकोत्तर अध्ययन पूरा गरिसकेका छन् भने हाल सोही विषयमा विद्यावारिधि (पिएचडी) अध्ययनरत छन् ।

शून्यबाट सुरु भएको उद्यमशीलता

पढाइसँगै उद्यमशीलताको बाटो रोजेका साहले सन् २००७ मा पुल्चोक क्याम्पसमा अध्ययनरत रहँदा चार जना साथी मिलेर ‘जानकी टेक्नोलोजी प्रालि’ स्थापना गरेका थिए । सोही कम्पनीमार्फत सुरु गरिएको ‘स्प्यारो एसएमएस’ सेवा विगत १९ वर्षदेखि देशभर सूचना पहुँचको माध्यम बनेको छ ।

सन् २०१७ मा सुरु गरिएको डिजिटल भुक्तानी सेवा ‘खल्ती’ पनि साह संलग्न प्रमुख प्रविधिगत परियोजनामध्ये एक हो । औपचारिक राजनीतिमा आउनुअघि उनी खल्तीका सह–संस्थापक थिए । हाल ‘खल्ती’ नेपालभर डिजिटल भुक्तानी प्रणालीका रूपमा प्रयोग हुँदै आएको छ । यसबाहेक सूचना प्रविधिसँग सम्बन्धित विभिन्न व्यवसायिक परियोजनामा उनी संलग्न रहँदै आएका छन् ।

रोजगारी र सामाजिक योगदान

सूचना प्रविधि क्षेत्रमा सञ्चालनमा रहेका विभिन्न कम्पनी तथा परियोजनामार्फत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी सिर्जना भएको साहको दाबी छ । उनी उद्यमशीलता र स्टार्टअप संस्कृतिको विकाससम्बन्धी कार्यक्रम, छलफल तथा प्रशिक्षणमा सक्रिय रूपमा सहभागी हुँदै आएका छन् । विशेषगरी युवामाझ स्टार्टअप इकोसिस्टम प्रवर्द्धन गर्न उनी निरन्तर क्रियाशील छन् ।

कृषि र ग्रामीण अर्थतन्त्र

ग्रामीण क्षेत्रको आर्थिक गतिविधिसँग जोडिँदै साह कृषि क्षेत्रमा पनि सक्रिय छन् । ‘किसान एग्रो’ नामक कृषि–आधारित परियोजनामार्फत प्रविधिमैत्री कृषि, बेमौसमी तथा उच्च मूल्यका बाली उत्पादनसम्बन्धी काम अघि बढाइएको छ । यस परियोजनामार्फत ग्रामीण क्षेत्रमा कृषि व्यवसायीकरण र प्रविधिको प्रयोगबारे जानकारी गराइँदै आएको उनले बताएका छन् ।

सम्मान र उपलब्धि

इन्जिनियर साहले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट सम्मान प्राप्त गरेका छन् । नेपाल इन्जिनियर्स एसोसिएसनको २९औँ समितिद्वारा आयोजित ५१औँ इन्जिनियर दिवसका अवसरमा सन् २०१३ मा तत्कालीन उपराष्ट्रपति परमानन्द झाबाट ‘युवा व्यावसायिक पुरस्कार’ प्राप्त गरेका थिए ।

यसअघि सन् २००५ मा पुल्चोक क्याम्पसको स्वतन्त्र विद्यार्थी संघमा निर्वाचित भई विद्यार्थी हितका गतिविधिमा सक्रिय भूमिका निर्वाह गरेका थिए । सन् २०२२ मा मधेस प्रदेश सरकारले उद्यमशीलता तथा नवप्रवर्तन क्षेत्रमा योगदान पुर्‍याएको भन्दै उनलाई उत्कृष्टता पुरस्कार प्रदान गरेको थियो ।

यसका साथै उनी गुगल बिजनेस ग्रुप पुरस्कारका लागि छनोट हुनुका साथै जलवायु लन्चप्याड कार्यक्रम र नवीकरणीय ऊर्जा सम्बन्धी पुरस्कारबाट पनि सम्मानित भएका छन् ।

संसदतर्फको यात्रा

शिक्षा, प्रविधि, उद्यमशीलता र सामाजिक क्षेत्रमा लामो समय योगदान दिएका इन्जिनियर अरविन्द साह हाल प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचन प्रक्रियामा सहभागी छन् । उनले शिक्षा, कृषि, सूचना प्रविधि, रोजगारी र ग्रामीण विकासलाई आफ्नो प्रमुख एजेन्डाका रूपमा अघि सारेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button