रौतहट , २९ माघ
रौतहट जिल्लामा सशस्त्र प्रहरी बल र वन सुरक्षा टोलीको संयुक्त गस्तीले अवैध साल काठ तस्करीको प्रयासलाई विफल बनाएको छ। बुधबार राति गरिएको नियमित गस्तीका क्रममा जंगलसहिया क्षेत्रबाट सालको काठ बोकेको एक टाटा सुमो गाडी र एक मोटरसाइकल बरामद गरिएको हो।
घटना जंगलसहिया सब–डिभिजन वन कार्यालयको कार्यक्षेत्रभित्र पर्ने जंगलसहिया साझेदारी वनअन्तर्गत बागमती नहर नजिक भएको हो। जंगल क्षेत्रमा शंकास्पद गतिविधि देखिएपछि गस्ती टोलीले तत्काल सवारीसाधन जाँच गरेको थियो।
जाँचका क्रममा भारतीय नम्बर प्लेटको टाटा सुमो गाडीमा लोड गरिएको दुई थान सालका गोलिया काठ फेला परेको र तस्करीमा प्रयोग गरिएको ना ६७ प १०५१ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ।
जंगलसहिया सब–डिभिजन वन कार्यालयका प्रमुख विनोद जेठाराको नेतृत्वमा खटिएको टोली घटनास्थलमा पुग्नासाथ काठ तस्करीमा संलग्न व्यक्ति सवारीसाधन छाडेर अँध्यारोको फाइदा उठाउँदै फरार भएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त कुमार साहले बताएका छन्।
बरामद गरिएको सालको काठ, टाटा सुमो र मोटरसाइकल हाल डिभिजन वन कार्यालय रौतहटमा सुरक्षित राखिएको छ। घटनाबारे आवश्यक अनुसन्धान सुरु गरिएको र संलग्न व्यक्तिको पहिचान गरी कानुनी दायरामा ल्याउने प्रक्रिया अघि बढाइएको वन कार्यालयले जनाएको छ।
वन क्षेत्रमा अवैध काठ तस्करी बढ्दै गएकाले संयुक्त गस्तीलाई थप सशक्त बनाइएको डिभिजन वन कार्यालयको भनाइ छ। वन सम्पदाको संरक्षण र अवैध दोहन नियन्त्रणका लागि सुरक्षा निकाय र वन कार्यालयबीच समन्वयलाई निरन्तरता दिइनेसमेत जनाइएको छ।
वन सुरक्षा टोलीले स्थानीयवासीलाई पनि वन विनाश र अवैध काठ कारोबारबारे जानकारी दिन र शंकास्पद गतिविधि देखिएमा तत्काल सम्बन्धित निकायलाई खबर गर्न आग्रह गरेको छ।




