Banner Newsमधेससमाचार

एसपी नरेन्द्र कुँवरद्वारा असई महतो माघ महिनाको उत्कृष्ट प्रहरी घोषित

जिल्ला प्रहरी कार्यालय बाराले प्रहरी सहायक निरीक्षक विजयकुमार महतोलाई माघ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ। हाल इलाका प्रहरी कार्यालय सिमरा अन्तर्गत महिला, बालबालिका सेवा केन्द्रमा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत महतोले अपराध अनुसन्धानमा उल्लेखनीय भूमिका खेलेपछि बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले उनलाई उत्कृष्ट प्रहरी घोषणा गर्दै पुरस्कृत गरेका हुन्।

माघ १४ गते बिहान करिब २ बजे परवानीपुर गाउँपालिका-९ रहरियाडिहस्थित करिब ५० वर्षीय जगरुप मण्डलको घरमा अपरिचित व्यक्तिले घरभित्र प्रवेश गरी ५ जनामाथि चक्कु प्रहार गर्दा २ जनाको घटनास्थलमै मृत्यु भएको थियो। उक्त जघन्य घटनामा संलग्न मुख्य अभियुक्तहरूलाई पक्राउ गर्न असई महतोले सक्रिय भूमिका निर्वाह गरेका थिए।

घटनामा संलग्न परवानीपुर गाउँपालिका–१ निवासी मृतक रामईश्वर मण्डलकी २३ वर्षीया श्रीमती मनिता देवी मण्डल तथा मुख्य फरार अभियुक्त वडा नं. ७ निवासी २७ वर्षीय धर्मेन्द्र महतो धानुकलाई घटना भएको करिब ८ घण्टाभित्रै खोजतलास गरी पक्राउ गर्न उनले मुख्य भूमिका खेलेका हुन्।

प्रहरी सहायक निरीक्षक महतोले अनुसन्धान कार्यमा अहम् भूमिका निर्वाह गर्दै आफूलाई सुम्पिएको जिम्मेवारी अत्यन्त इमान्दारी एवं उत्कृष्ट ढंगबाट कार्यसम्पादन गरेको र साथै विभागीय नीति–निर्देशनको पूर्ण पालना गरेको भन्दै उत्कृष्ट कार्यको कदरस्वरूप उनलाई माघ महिनाको उत्कृष्ट प्रहरी (बेस्ट पुलिस अफ द मन्थ ) घोषणा गरिएको एसपी कुँवरले जानकारी दिएका छन्।

उनका अनुसार यस्तो सम्मानले अन्य प्रहरी कर्मचारीहरूमा समेत सकारात्मक प्रभाव पार्दै कार्यदक्षता अझ प्रभावकारी बन्ने विश्वास गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button