कलैया उपमहानगरपालिकाका विभिन्न वडाहरूमा मतदाताहरूलाई लक्षित गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रमअन्तर्गत मतदातालाई मतपत्रमा सही तरिकाले मत संकेत गर्ने प्रक्रिया, मतदानको गोपनीयता र वैध मत कसरी सुनिश्चित गर्ने भन्ने विषयमा व्यवहारिक जानकारी दिइएको हो।
मतदाता शिक्षाका क्रममा प्रशिक्षकहरूले नमूना मतपत्र प्रयोग गरी सही ठाउँमा छाप कसरी लगाउने, एकभन्दा बढी चिन्ह नलगाउने, मतपत्र नच्यात्ने तथा गलत तरिकाले छाप लगाउँदा मत बदर हुने अवस्थाबारे स्पष्ट पारे। विशेषगरी पहिलो पटक मतदान गर्ने युवायुवती, महिला र वृद्ध मतदातालाई लक्षित गरी सरल भाषामा प्रशिक्षण दिइएको थियो।
कार्यक्रममा मतदान केन्द्रमा प्रवेशदेखि मत खसालेर बाहिर निस्किनेसम्मको सम्पूर्ण प्रक्रिया चरणबद्ध रूपमा बुझाइएको थियो। मतदातालाई आफ्नो मत स्वतन्त्र र गोप्य रूपमा प्रयोग गर्न प्रोत्साहन गर्दै कुनै दबाब वा प्रलोभनमा नपर्न आग्रह गरिएको थियो।
स्थानीय आयोजकका अनुसार मतदाता शिक्षाले बदर मत घटाउन र मतदाताको आत्मविश्वास बढाउन सहयोग पुर्याउने विश्वास लिइएको छ। वडास्तरमा घरदैलो र सामूहिक भेला मार्फत कार्यक्रम सञ्चालन हुँदा सर्वसाधारणको सहभागिता उल्लेखनीय देखिएको जनाइएको छ।
कार्यक्रममा सहभागी मतदाताहरूले मत संकेत गर्ने तरिका स्पष्ट रूपमा बुझ्न पाएको प्रतिक्रिया दिएका छन्। उनीहरूले यस्ता कार्यक्रमले चुनावप्रतिको बुझाइ बढाउनुका साथै लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउने बताएका छन्।
निर्वाचन फोकल पर्सन राजिव यादवले आगामी दिनमा पनि बाँकी वडाहरूमा मतदाता शिक्षा कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिएका छन्।




