कलैया–८ र ११ को सीमावर्ती क्षेत्रमा खानेपानी संकट समाधानका लागि समुदाय स्तरमा संवाद सम्पन्न

कलैया-कलैया उपमहानगरपालिका वडा नं. ८ र ११ बीचको टोल खपरताता र विषम्मरपुर क्षेत्रमा लामो समयदेखि खानेपानी धारामा आएको खराबी र आन्तरिक विवादका कारण खानेपानी आपूर्ति अवरुद्ध भएपछि स्थानीय समुदायमा खानेपानीको हाहाकार सिर्जना भएको थियो। यस समस्याको समाधान खोज्न सामाजिक परिवर्तन केन्द्र को आयोजनामा खानेपानी उपभोग गर्ने समुदायबीच संवाद कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रमको अध्यक्षता लहवर महतोले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा सामाजिक अभियन्ता हिरामती कुशवाहा तथा अतिथिका रूपमा जीवन विकास लघुवित्त वित्तीय संस्था, कलैया शाखाका प्रबन्धक सचिन्द्र साह सहभागी हुनुभएको थियो।
संवाद कार्यक्रममा किशोरी साह, अवध प्रसाद कुशवाहा, विनोद साह, कान्ति देवी गिरी, श्रीलाल प्रसाद कुशवाहा, सीता देवी राम, कृष्ण गिरी, राजेश कुशवाहा, बलिराम गिरीलगायत स्थानीय युवा, समाजसेवी, शिक्षक तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा कुल ४७ जनाको उपस्थिति रहेको आयोजकले जनाएको छ।

कार्यक्रमको सहजीकरण सामाजिक परिवर्तन केन्द्रका प्रतिनिधि विक्की कुशवाहा ले गर्नुभएको थियो। खानेपानी अभावपछि उत्पन्न समस्या र त्यसका समाधानका विषयमा सहभागीहरूले खुला छलफल गरेका थिए।
छलफलका क्रममा किशोरी साहले हालको परिस्थितिलाई मध्यनजर गर्दै बिहान ३ घण्टा र साँझ ३ घण्टा पानी वितरण गर्नुपर्ने सुझाव दिनुभयो। अवध प्रसाद कुशवाहाले बाटोमा हिँड्ने बटुवाहरूले समेत पानी प्रयोग गर्ने भएकाले व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो। स्थानीय युवाहरूले पानीको स्रोतलाई सुरक्षित राख्न आवश्यक समयमा मात्र सञ्चालन गर्ने तथा जिम्मेवार व्यक्तिमार्फत वितरण व्यवस्था मिलाउनुपर्ने धारणा राखेका थिए।

सामाजिक अभियन्ता हिरामती कुशवाहाले खानेपानी व्यवस्थापनलाई दीर्घकालीन बनाउन उपभोक्ता समिति गठन गरी व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले समिति गठन भएपछि सम्बन्धित निकाय तथा सरोकारवालाहरूबाट आवश्यक सहयोग जुटाउन र पूर्वाधारको दिगो व्यवस्थापन गर्न सहज हुने बताउनुभयो।
त्यसैगरी, जीवन विकास लघुवित्त वित्तीय संस्था कलैयाका शाखा प्रबन्धक सचिन्द्र साहले संस्थाले सञ्चालन गरिरहेका कार्यक्रमबारे जानकारी गराउँदै खानेपानी बोरिङका लागि आवश्यक मोटर सहयोग गर्न प्रतिबद्धता व्यक्त गर्नुभयो।

संवाद कार्यक्रमको निष्कर्षस्वरूप ११ सदस्यीय खानेपानी उपभोक्ता समिति सर्वसम्मत रूपमा गठन गरिएको छ। समितिको अध्यक्षमा विनोद साह तेली, उपाध्यक्षमा कान्ति देवी, सचिवमा श्रीलाल कुशवाहा, कोषाध्यक्षमा अवध महतो कोइरी तथा सदस्यहरूमा सीता देवी राम, अमिरिलाल, तेतरी देवी, कृष्ण गिरी, राजेश कुशवाहा, सोनु गिरी र बलिराम गिरी चयन हुनुभएको छ।
कार्यक्रमको अन्त्यमा अध्यक्ष लहवार महतोले नवगठित समितिका पदाधिकारीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै समुदायको सहकार्यबाट खानेपानी समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमसम्बन्धी जानकारी सामाजिक परिवर्तन केन्द्रका प्रतिनिधि विक्की कुशवाहा ले दिनुभएको हो।




