Banner Newsसमाचार

पर्सामा कल बाइपास गरिरहेका १९ वर्षीय युवक पक्राउ

काठमाडौं – अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भिओआइपी) सञ्चालन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्सा वीरगन्ज महानगरपालिका-२० स्थायी घर भई हाल वीरगन्ज महानगरपालिका-३० लालपर्सा बस्ने १९ वर्षीय धिरज पटेल रहेका छन्।

वीरगन्ज महानगरपालिका-१६ को एउटा घरबाट पटेललाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।

दुई तले घरको दोस्रो तलामा एउटा कोठा भाडामा लिएर उनले कल बाइपास गराइरहेको पाइएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक सुधीरराज शाहीले बताए।

नेपाल टेलिकम र एनसेल कम्पनीका प्राविधिकहरूको सहयोग र समन्वयमा उनलाई पक्राउ गरिएको शाहीले बताए।

पटेलले सञ्चालन गरेको कल बाइपास स्थानबाट भिओआइपी गेटवे ३२ पोर्ट थान दुई,भिओआइवी गेटवे १८ पोर्ट एक थान,एनसेल कम्पनीका सिमकार्ड १४ थान,राउटर,ल्यापटप,इन्भर्टर दुई-दुई थान,कनेक्टर,मोबाइल र ३२ जिबीको एक थान पेनड्राइभ बरामद भएको छ।

कल बाइपासको नेटवर्क अन्तर्राष्ट्रिय तह हुँदै नेपालसम्म आइपुगेको हो। प्रहरीका अनुसार विदेशबाट नेपाल आउने नेटवर्क सर्भरलाई बीचबाटै डाइभर्ट गरी कल बाइपास गरिन्छ।

कल बाइपास गर्दा टेलिकमले पाउने राजश्व गिरोहले बीचबाटै गायब पार्ने हुनाले सेवा प्रदायक कम्पनीलाई सिधै नोक्सान पुग्छ। ‘कल बाइपासबाट पटेलले के कति नोक्सान भएको हो भन्ने विवरणको लेखाजोखा हुन बाँकी छ,’ शाहीले भने।

पक्राउ परेका पटेललाई दुरसञ्चार ऐन २०५३ अन्तर्गतको कसुरमा हिरासतमा राखेर अनुसन्धान थालिएको छ। न्यूजकारखाना

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button