Banner Newsमधेसराजनीतिसमाचार

शिलान्यासमै सीमित माधोपुर–रजबडा सडक, तीन वर्ष बितिसक्दा पनि निर्माण सुरु भएन

रौतहट, २२ माघ । माधव नारायण नगरपालिका–६ स्थित माधोपुरबाट रजबडा जाने सडक तीन वर्षअघि शिलान्यास भए पनि हालसम्म निर्माण कार्य सुरु हुन सकेको छैन। पूर्वप्रधानमन्त्री तथा रौतहट क्षेत्र नं. १ का तत्कालीन सांसद माधव कुमार नेपालले भव्य समारोहका बीच शिलान्यास गरेको उक्त सडक योजना कार्यान्वयन नहुँदा शिलान्यासमै सीमित बनेको हो।

स्थानीयवासीका अनुसार चुनाव नजिकिँदा विकासका नाममा सडक, पुल, खानेपानीजस्ता अत्यावश्यक पूर्वाधार योजनाहरूको तामझामका साथ शिलान्यास गरिने तर पछि कार्यान्वयन नहुने प्रवृत्ति पुरानै समस्या बनेको छ। माधोपुर–रजबडा सडक पनि त्यही प्रवृत्तिको उदाहरण बनेको उनीहरूको गुनासो छ।

शिलान्यासका बेला सडक निर्माणबारे ठूला आश्वासन दिइए पनि अहिलेसम्म न त बजेटको स्पष्टता आएको छ, न त निर्माणसम्बन्धी कुनै गतिविधि नै देखिएको छ। वर्षायाममा बाटो हिलाम्मे भई आवतजावत कठिन हुने गरेको छ भने हिउँदमा धुलो र खाल्डाखुल्डीका कारण स्थानीय बासिन्दाले सास्ती खेप्नुपरेको छ।

स्थानीय नागरिकहरू भन्छन्, “चुनाव आउँदा विकासको ढोल पिटिन्छ, शिलान्यास हुन्छ, फोटो खिचिन्छ र भाषण हुन्छ। तर चुनाव सकिएपछि सबै कुरा बिर्सिन्छ।” उनीहरूका अनुसार यस्ता अधुरा योजनाहरू जनतालाई झुक्याउने र मत बटुल्ने माध्यम मात्र बनेका छन्।

तीन वर्ष बितिसक्दा पनि सडक निर्माण सुरु नहुनुले नेतृत्वको प्रतिबद्धता र विकासप्रतिको गम्भीरतामाथि प्रश्न उठाएको स्थानीयको भनाइ छ। अब जनताले शिलान्यास होइन, प्रत्यक्ष देखिने र अनुभूत हुने खालको विकास चाहेको स्पष्ट सन्देश दिएको उनीहरू बताउँछन्।

स्थानीयवासीहरूले सम्बन्धित निकाय र राजनीतिक नेतृत्वसँग तत्काल सडक निर्माण कार्य अघि बढाउन माग गर्दै, चुनावी नाराभन्दा दीर्घकालीन र स्थायी विकासको आवश्यकता रहेकोमा जोड दिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button