Banner Newsमधेससमाचार

यातायात कार्यालय कलैयामा सुधारको अनुभूति, कार्यालय प्रमुख चिन्तन आचार्यको पहल प्रभावकारी

कलैया, २२ माघ
यातायात व्यवस्था कार्यालय कलैयाका कार्यालय प्रमुख चिन्तन आचार्यको नेतृत्वमा कार्यालय व्यवस्थापनमा उल्लेखनीय सुधार देखिन थालेको छ। सेवाग्राहीमैत्री र व्यवस्थित सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आचार्यले कार्यालयलाई अनुशासित, पारदर्शी र जनमुखी बनाउँदै लगेका छन्।
कार्यालय परिसरमा भद्र पार्किङ व्यवस्थालाई व्यवस्थित गरिएको छ। अव्यवस्थित रूपमा पार्किङ हुने सवारी साधनलाई व्यवस्थापन गर्दै सेवाग्राही र कर्मचारी दुवैलाई सहज हुने वातावरण बनाइएको छ। साथै कार्यालय वरपर सरसफाइ गराई स्वच्छ वातावरण कायम गर्न थालिएको छ भने आगामी दिनमा बोटबिरुवा रोपेर हरियाली प्रवर्द्धन गर्ने योजनासमेत अघि सारिएको कार्यालयले जनाएको छ।
त्यसैगरी सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सेवामा समेत सुधार आएको देखिन्छ। बायोमेट्रिक, लिखित तथा ट्रायल परीक्षालाई मर्यादित र व्यवस्थित बनाउँदै सीमित दक्ष जनशक्तिको अधिकतम सदुपयोग गरिएको छ। यसले सेवा प्रवाहलाई छरितो र प्रभावकारी बनाएको सेवाग्राहीको अनुभव छ।
पहिले लामो समयसम्म प्रतिक्षा गर्नुपर्ने झन्झट अहिले धेरै हदसम्म हटेको सेवाग्राहीहरू बताउँछन्। लाइसेन्स परीक्षाका लागि अनावश्यक लाइन बस्नुपर्ने, अन्योल र ढिलाइको समस्या घट्दै गएको उनीहरूको भनाइ छ। “पहिले निकै अव्यवस्था थियो, अहिले परीक्षा प्रक्रिया छिटो र सहज भएको छ,” एक सेवाग्राहीले बताए।
सेवाग्राहीका अनुसार परीक्षा प्रक्रिया पनि दिनप्रतिदिन पारदर्शी बन्दै गएको छ। लिखित तथा ट्रायल परीक्षा निष्पक्ष र नियमअनुसार सञ्चालन हुन थालेपछि कार्यालयप्रति विश्वास बढेको उनीहरूको प्रतिक्रिया छ।
कार्यालय प्रमुख आचार्यले सार्वजनिक सेवालाई जिम्मेवारी र इमान्दारिताका साथ अघि बढाउनुपर्ने बताउँदै सुधार प्रक्रिया निरन्तर रहने जनाएका छन्। व्यवस्थापन सुधार, स्वच्छ वातावरण र पारदर्शी सेवामार्फत यातायात कार्यालय कलैयालाई नमुना कार्यालयका रूपमा विकास गर्ने लक्ष्य रहेको उनको भनाइ छ।
यातायात कार्यालयमा देखिएको यो सुधारले सेवाग्राहीमा सकारात्मक सन्देश दिएको छ भने अन्य सरकारी कार्यालयका लागि पनि उदाहरणीय अभ्यासका रूपमा हेरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button