पर्साको मुख्य व्यापारिक केन्द्र वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित एक व्यावसायिक गोदाममा राजस्व छलीको आशंकामा छापा मार्ने क्रममा सशस्त्र प्रहरी बल नेपालमाथि तस्कर समूहले आक्रमण गरेको छ। घटनामा तीन जना सशस्त्र प्रहरी सामान्य घाइते भएका छन् भने सरकारी सवारी साधनमा समेत क्षति पुगेको छ।
सशस्त्र प्रहरी बल नेपाल र वीरगंज भन्सार कार्यालयको संयुक्त टोलीले सोमबार विशेष सूचनाका आधारमा उक्त गोदाममा छापा मारेको थियो। सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मोहन केसीका अनुसार मदन प्रसाद गुप्ताको घरमा अवैध रूपमा गोदाम गरी राखिएको कपडामा छापा मारिएको हो।
छापामारीका क्रममा करिब पाँच लाख रुपैयाँभन्दा बढी मूल्य बराबरका पाँच पोका कपडा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामदपछि स्थिति तनावग्रस्त बन्दै जाँदा आक्रोशित व्यापारी तथा तस्कर समूहले सशस्त्र प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए।
ढुंगाप्रहारबाट सशस्त्र प्रहरी प्रयोगमा रहेको एउटा वानटन र एउटा स्कार्पियो गाडीको सिसा फुटेको छ। साथै तीन जना सशस्त्र प्रहरी कर्मचारी सामान्य घाइते भएका सशस्त्र प्रहरीका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। घाइतेहरूको अवस्था सामान्य रहेको र वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
यसैबीच, प्रस्तावित सीमा सुरक्षा बल तथा वीरगञ्ज भन्सारमा कार्यरत सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) विकास अधिकारीले गोदाम खानतलासी गर्ने क्रममा स्थानीय व्यापारीहरूले विरोध जनाएपछि झडप सुरु भएको बताए। उनका अनुसार सुरक्षाकर्मीमाथि भएको आक्रमण कानूनविपरीत रहेको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।
यता व्यापारी पक्षले भने आफूहरूसँग सामानको वैध बिलबिजक रहेको दाबी गर्दै बिना कारण दुःख दिइएको आरोप लगाएका छन्। वैध कागजात देखाउँदा समेत सामान नियन्त्रणमा लिन खोजिएपछि स्थिति बिग्रिएको उनीहरूको भनाइ छ।
बरामद गरिएको कपडा वीरगंज भन्सार कार्यालयको जिम्मा लगाइएको छ। घटनापछि सम्भावित अप्रिय अवस्था रोक्न आदर्शनगर क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ। सशस्त्र प्रहरी बल नेपालले घटनामा संलग्न दोषीको पहिचान गरी कानुनी प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ।
यता व्यापारीहरूले वैध रूपमा व्यवसाय सञ्चालन गर्नेहरूमाथि समेत तस्करझैँ व्यवहार गरिएको भन्दै असन्तुष्टि जनाएका छन्। उनीहरूले निष्पक्ष छानबिन, स्पष्ट कार्यविधि र व्यवसायमैत्री वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।




