देवताल गाउँपालिकामा देखिएको विकासको मोडेललाई बारा क्षेत्र नं. २ मा पनि लागू गर्दै चौतर्फी विकास गर्ने तथा देशमा व्याप्त भ्रष्टाचारलाई निरुत्साहित गर्ने उद्देश्यका साथ आफूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएको उम्मेदवार चन्दन कुमार सिंहले बताएका छन्।
बुधबार बारा–२ अन्तर्गत विभिन्न स्थानमा आयोजित घरदैलो तथा जनसम्पर्क अभियानका क्रममा बोल्दै सिंहले जनजी युवाको माग, चाहना र अपेक्षालाई प्रतिनिधित्व गर्न आफू चुनावी मैदानमा उत्रिएको स्पष्ट पारे। उनले पुराना राजनीतिक अभ्यासले जनताको जीवनस्तर परिवर्तन गर्न नसकेको भन्दै अब नयाँ सोच, इमानदार नेतृत्व र परिणाममुखी काम आवश्यक रहेको बताए।
“देवताल गाउँपालिकामा सम्भव भएको विकास बारा–२ मा किन सम्भव हुँदैन?” भन्दै सिंहले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, रोजगारी र कृषि क्षेत्रमा योजनाबद्ध विकास गरिने प्रतिबद्धता व्यक्त गरे। उनले युवालाई रोजगारीका लागि विदेश जान बाध्य हुने अवस्थाको अन्त्य गर्न स्थानीय स्तरमै अवसर सिर्जना गरिनुपर्नेमा जोड दिए।
चुनाबी अभियानका क्रममा सिंहले भ्रष्टाचार देशको सबैभन्दा ठूलो समस्या भएको उल्लेख गर्दै भने, “भ्रष्टाचारलाई नियन्त्रण नगरी विकास सम्भव छैन। त्यसैले पारदर्शिता, जवाफदेहिता र कडा निगरानीमार्फत भ्रष्टाचारलाई निरुत्साहित गर्नु मेरो मुख्य एजेन्डा हो।”
स्थानीय बासिन्दासँगको भेटघाटमा सिंहले जनताको समस्या प्रत्यक्ष सुनेका छन्। उनले निर्वाचित भए जनताको घरदैलोमै पुगेर काम गर्ने, पहुँच र सिफारिसको राजनीति अन्त्य गर्ने तथा जनताको करको एक–एक रुपैयाँ सही ठाउँमा खर्च हुने व्यवस्था मिलाउने प्रतिवद्धता जनाए।
घरदैलो अभियानमा सहभागी युवाहरूले सिंहको स्पष्ट बोली, सरल व्यवहार र विकासप्रतिको दृष्टिकोणले आफूहरू प्रभावित भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले पुराना दलभन्दा फरक शैली र नयाँ राजनीतिक संस्कृतिको आवश्यकता रहेको भन्दै सिंहलाई समर्थन जनाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले अघि सारेको सुशासन, पारदर्शिता र जनउत्तरदायी शासन प्रणालीलाई बारा–२ मा व्यवहारमै उतार्ने लक्ष्यसहित चन्दन कुमार सिंहले चुनावी अभियानलाई तीव्र बनाइरहेका छन्।




