Banner Newsमधेसराजनीतिसमाचार

नापी कार्यालय कलैयाका सम्पूर्ण सेवा अब अनलाइनमार्फत

नापी कार्यालय कलैया, बाराले आफ्ना सम्पूर्ण सेवा अब अनलाइन प्रणालीमार्फत सञ्चालनमा ल्याएको जनाएको छ। कार्यालयले विगतदेखि नै डिजिटल माध्यमबाट सेवा प्रवाह गर्दै आएको भए पनि प्राविधिक रूपान्तरणलाई थप प्रभावकारी बनाउन मिति २०८२ माघ २८ गतेदेखि नेलीस (NeLIS–Nepal Land Information System) तथा मेरोकित्ता (Merokitta) प्रणालीमार्फत सबै सेवा अनलाइनबाट सञ्चालन गरिएको जानकारी दिएको हो।
कार्यालयका अनुसार मेरोकित्ता प्रणालीअन्तर्गत प्रदान गरिने सेवाहरू सेवाग्राहीले घरमै बसेर https://merokitta.dos.gov.np/� वेबसाइटमार्फत अनलाइनबाटै प्राप्त गर्न सक्नेछन्। यस कदमले सेवा प्रवाहलाई अझ सहज, छिटो तथा पारदर्शी बनाउने विश्वास कार्यालयले व्यक्त गरेको छ।
नेपालभर हाल १३९ वटा नापी कार्यालय रहेका छन्। आर्थिक वर्ष २०७७/७८ देखि नापी कार्यालयहरूमा अनलाइन सेवा सुरु गरिएको थियो। प्रारम्भमा ५० वटा नापी कार्यालयमा लागू गरिएको उक्त प्रणाली बाँकी कार्यालयहरूमा समेत २०८२ माघ मसान्तभित्र लागू गर्ने सरकारको तयारी रहेको जनाइएको छ।
यसैक्रममा नापी कार्यालय कलैया, बाराले पनि आजदेखि अनलाइन किता काट, अनलाइन नक्सा तथा अन्य नापी सम्बन्धी कामकाजका सेवा सञ्चालनमा ल्याएको छ। नापी कार्यालयका प्रमुख ई. सुबोध यादवले सो जानकारी दिएका हुन्।
हाल उक्त प्रविधिको प्रयोग प्रारम्भिक चरणमा रहेकाले साविकको तुलनामा कार्यभार बढ्न सक्ने र सेवा प्रवाहमा केही ढिलाइ हुन सक्ने सम्भावना रहेको कार्यालयले जनाएको छ। साथै, अनलाइन सर्भरमा प्राविधिक समस्या आउन सक्ने भएकाले सेवाग्राहीमा पर्न जाने असुविधाप्रति कार्यालयले क्षमायाचना समेत गरेको छ।
कार्यालय प्रमुख ई. सुबोध यादवले सबै सेवाग्राही तथा सरोकारवालालाई नयाँ प्रणालीको अधिकतम उपयोग गर्दै सेवा लिन आग्रह गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button