Banner Newsमधेसराजनीतिसमाचार

रौतहटको सबगढा घटना: वडाध्यक्ष सहित २२ जना विरुद्ध मुद्दा दर्ता, सूक्ष्म अनुसन्धान सुरु

रौतहट, ११ फागुन
रौतहटको गौर नगरपालिकास्थित सबगढामा साम्प्रदायिक सद्भाव बिथोल्ने गरी भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा प्रहरीले २२ जना विरुद्ध कानुनी कारबाही अगाडि बढाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले आपराधिक उपद्रोह तथा आगजनी कसुरमा मुद्दा दर्ता गरी घटनाको सूक्ष्म अनुसन्धान सुरु गरेको हो ।
वडाध्यक्ष र जिल्ला इन्चार्ज सर्तसहित रिहा
प्रहरीले सोही घटनाको सिलसिलामा नियन्त्रणमा लिएका गौर नगरपालिका वडा नम्बर ६ का वर्तमान वडाध्यक्ष अबधविहारी साह र पूर्व वडाध्यक्ष एवं जनमत पार्टीका जिल्ला इन्चार्ज शेख जमशैदलाई भने जिम्मा जमानीमा रिहा गरीएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप वस्यालका अनुसार उनीहरूलाई अनुसन्धानको क्रममा आवश्यक परेको बखत उपस्थित गराउने शर्तमा छाडिएको हो ।
शनिबार सबगढामा भएको घटनालाई थप उत्तेजित बनाएको र भौतिक तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुभनारायण साह र समिर मियाँ रहेका छन् । योसँगै उक्त मुद्दामा प्रतिवादीको संख्या २२ पुगेको हो ।
अनुसन्धानलाई प्रविधिमैत्री र प्रभावकारी बनाउन प्रहरीले विशेष कदम चालेको छ। जिम्मा जमानीमा छुटेका वडाध्यक्ष साह र इन्चार्ज जमशैद सहित तीन जनाको मोबाइल फोन प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएका मोबाइलहरू परीक्षणका लागि काठमाडौँ पठाइने भएको छ। मोबाइल परीक्षणको रिपोर्टमा घटनामा संलग्नता पुष्टि हुने वा दोषी ठहर हुने खालका प्रमाणहरू फेला परेमा उनीहरूलाई तत्काल नियन्त्रणमा लिएर थप कारबाही प्रक्रिया अगाडि बढाइनेछ, डीएसपी बस्यालले जानकारी दिए ।
सबगढा घटनापछि उत्पन्न हुनसक्ने थप तनावलाई मध्यनजर गर्दै सुरक्षा निकायले विशेष सतर्कता अपनाएको हो । प्रहरीले घटनामा संलग्न भई फरार रहेका अन्य व्यक्तिहरूको पहिचान र खोजी कार्यलाई तीव्रता दिएको बताएको छ ।
जिल्ला प्रशासन कार्यालय र प्रहरीले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट भ्रम नफैलाउन र साम्प्रदायिक सद्भाव कायम राख्न सबै पक्षलाई आग्रह गरेको छ । शान्ति सुरक्षालाई सुदृढ बनाउन स्थानीय प्रशासनले संयमित रहन र कानुनी प्रक्रियामा सहयोग गर्न अपिल समेत गरीएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button