बारा , ११ फागुन
जनता समाजवादी पार्टीका तर्फबाट बारा क्षेत्र नम्बर ३का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामबाबु यादव यतिबेला चुनावी मैदानमा आक्रामक र जुझारु रूपमा सक्रिय देखिएका छन्। छाता छाप चुनाव चिन्ह लिएर उनी गाउँ–गाउँमा घरदैलो, र्याली तथा कोणसभा मार्फत मतदातासँग प्रत्यक्ष संवादमा जुटिरहेका छन्।
यादवले आफ्नो लामो राजनीतिक अनुभव र विगतका कार्यसम्पादनलाई मुख्य आधार बनाउँदै मतदाताको समर्थन मागिरहेका छन्। उनका अनुसार २०४८ सालदेखि निरन्तर राजनीतिमा सक्रिय रहँदै आफू निर्वाचित भएको अवधिमा यस क्षेत्रको विकासलाई योजनाबद्ध रूपमा अघि बढाइएको थियो। शिक्षा, सडक, सिँचाइ, खानेपानी र आधारभूत पूर्वाधार विकासका थुप्रै योजनामा आफ्नो निर्णायक भूमिका रहेको दाबी गर्दै उनले अधुरा योजनाहरूलाई अब पूर्णता दिने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्।
घरदैलो कार्यक्रमका क्रममा यादवले विकासका मुद्दालाई भावनात्मक नारामा सीमित नराखी ठोस कामसँग जोडिएको विषय भएको बताए। “यो क्षेत्रको विकास अधुरो छोडिने छैन,” भन्दै उनले जनताको भरोसा नै आफ्नो शक्ति भएको उल्लेख गरे। बाँकी रहेका योजना सम्पन्न गर्नु नै आफ्नो पहिलो प्राथमिकता हुने उनको भनाइ छ।
चुनावी सभामा यादवले बारा–३ लाई समृद्ध, आत्मनिर्भर र अवसरयुक्त क्षेत्र बनाउने लक्ष्य दोहोर्याउँदै मतदातालाई छाता छापमा मतदान गर्न आग्रह गरेका छन्। स्थानीय कार्यकर्ताहरूका अनुसार पछिल्ला दिनहरूमा बारा–३ मा छाता छापप्रति आकर्षण बढ्दै गएको छ र चुनावी माहोल क्रमशः यादवको पक्षमा मोडिँदै गएको देखिन्छ।
चुनावी सरगर्मी चुलिँदै जाँदा यादवको अभियानले क्षेत्रीय राजनीतिमा नयाँ बहस र सक्रियता थपेको विश्लेषकहरूको भनाइ छ। विशेषगरी कलैया उपमहानगरपालिकाका वडा नम्बर ४ र १० मा सम्पन्न घरदैलो कार्यक्रममा उनले विकासका अधुरा काम, स्थानीय आवश्यकता र आगामी योजनाबारे मतदातासँग खुला संवाद गरेका थिए।
स्थानीय मतदातासँगको प्रत्यक्ष भेटघाट, अनुभवको दाबी र योजनाको निरन्तरताको सन्देशसहित अघि बढिरहेको रामबाबु यादवको चुनावी अभियानले बारा–३ को प्रतिस्पर्धालाई थप रोचक बनाइरहेको छ।




