Banner Newsमधेसराजनीतिसमाचार

पर्सा–४ मा काँग्रेस उम्मेदवार जिताउन मुख्यमन्त्री यादवको आग्रह

पर्सा, ११ फागुन
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादवले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई विजयी गराउन स्थानीय मतदातासँग आग्रह गर्नुभएको छ।
पर्सा क्षेत्र नम्बर–४ अन्तर्गत पर्ने छिपहरमाई गाउँपालिका वडा नम्बर–१ मिर्जापुरमा आयोजित भेटघाट कार्यक्रममा मुख्यमन्त्री यादवले काँग्रेसका उम्मेदवार रमेश रिजललाई जिताउन स्थानीय नेता, कार्यकर्ता तथा जनसमुदायसँग आग्रह गर्नुभएको हो।
नेपाली काँग्रेस मधेश प्रदेशका सभापति समेत रहनुभएका मुख्यमन्त्री यादवले देश र जनताको हितका लागि गगन थापाको नेतृत्वमा सरकार आवश्यक रहेको बताउनुभयो। उहाँले यसपटकको निर्वाचन मुलुकका लागि अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै काँग्रेसको जित अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो।
देश संकटमा परेका बेला काँग्रेसले नै निकास दिएको स्मरण गराउँदै मुख्यमन्त्री यादवले वर्तमान चुनौतीको समाधानका लागि पनि काँग्रेसको विकल्प नभएको दाबी गर्नुभयो।
चुनावी भाषणका क्रममा विकासका विषयमा बोल्दै उहाँले नेपाल कृषि प्रधान देश भएकाले मधेश प्रदेशमा कृषि क्षेत्रमा ठूलो विकास गरिने बताउनुभयो। दातृ संस्थासँग करिब ५० अर्ब रुपैयाँ सहयोगका लागि पहल भइरहेको जानकारी दिँदै नावगवामा कृषि, सिँचाइ तथा ओरिया नदीको तटबन्ध निर्माण गर्नुका साथै शिक्षा र स्वास्थ्य क्षेत्रलाई बलियो बनाइने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रमको क्रममा मुख्यमन्त्री यादवले मिर्जापुर, भलुवहिया क्षेत्रमा रहेको ओरिया खोला, छठ घाट तथा भलुवहियास्थित विद्यालयहरूको स्थलगत अनुगमन तथा निरीक्षण समेत गर्नुभएको थियो।
काँग्रेसका वडा अध्यक्ष पासपती गिरीको अध्यक्षतामा सम्पन्न भेटघाट कार्यक्रममा मधेश प्रदेशका वन तथा वातावरण मन्त्री शंकर चौधरी, नेपाली काँग्रेस पर्साका सह–सचिव नविन सिंह, वडा अध्यक्ष कामेश्वर यादव, पप्पु कुमार यादव, रुपेश उपाध्याय लगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button