अन्तर्राष्ट्रियअर्थतन्त्रकर्णालीकृषिकोशीखेलकुदगण्डकीप्रदेश समाचारबागमतीमधेशराजनीतिराष्ट्रियलुम्बिनीविचारशिक्षासमाचारसुदूरपश्चिमसूचना प्रविधिस्थानियस्वास्थ्य
मटिअर्वा सिमा सुरक्षा गुल्मका डीएसपी गणमा तानिए, छानबिन प्रक्रिया सुरु

बारा, १२ बैशाख
बाराको मटिअर्वास्थित सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत सिमा सुरक्षा गुल्ममा कार्यरत डीएसपी नारायण प्रसाद पौडेल लाई गणमा तानिएको छ।
श्रोतका अनुसार मदिरा सेवन गरी कबाड तथा कपडाको अवैध तस्करीमा संलग्न रहेको गम्भीर आरोप लागेपछि उनलाई छानबिनका लागि शुक्रबार राति सशस्त्र प्रहरी बलको १२ नम्बर गणमा तानिएको हो।
प्राप्त जानकारीअनुसार कार्यक्षेत्रमा जिम्मेवारी निर्वाह गर्नुपर्ने समयमा मदिरा सेवन गरी बस्ने र सोही आडमा सीमा क्षेत्रमा हुने अवैध ओसारपसारमा संलग्न तस्करहरूलाई सहयोग गरेको भन्दै उजुरी परेपछि उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको बताइएको छ।
यसैबीच, सशस्त्र प्रहरी उपरीक्षकको आकस्मिक अनुगमनका क्रममा मटिअर्वा सिमा सुरक्षा गुल्म पुग्दा समेत डीएसपी पौडेल मदिरा सेवनका कारण उपस्थित हुन नसकेको विषय बाहिर आएपछि सुरक्षा निकायको छविमा नकारात्मक प्रभाव परेको भन्दै उनलाई जिम्मेवारीबाट हटाएर अनुसन्धानका लागि गणमा बोलाइएको स्रोतको दाबी छ।
यता, बिशाल सिलवाल (गणपति, सशस्त्र प्रहरी बल १२ नम्बर गण) ले भने डीएसपी पौडेलको स्वास्थ्य अवस्था कमजोर भएकाले केही समय आरामका लागि गणमा बोलाइएको जानकारी दिनुभयो। साथै, तत्कालका लागि अर्को डीएसपीलाई मटिअर्वा सिमा सुरक्षा गुल्ममा खटाइएको उहाँले बताउनुभयो।
यस विषयसँगै सामाजिक सञ्जालमा पनि चर्चा बढेको छ। मटिअर्वाका स्थानीय पत्रकार राजु चौरसियाले शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत डीएसपी र तस्करबीच रकम लेनदेनसम्बन्धी आरोपसहित पोस्ट सार्वजनिक गरेपछि घटनाले थप चर्चा पाएको हो।
यद्यपि, सम्बन्धित निकायबाट औपचारिक छानबिन निष्कर्ष सार्वजनिक भइनसकेकाले आरोपहरूको पुष्टि हुन बाँकी रहेको छ। स्थानीयवासीले भने सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि निष्पक्ष र पारदर्शी छानबिनको माग गरेका छन्।



